Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

निर्मल पुर्जासहित १० आरोहीको शव क्याम्प-१ तर्फ ल्याइँदै, उद्धार टोलीद्वारा जोखिमपूर्ण कार्य सुरु

निर्मल पुर्जासहित १० आरोहीको शव क्याम्प-१ तर्फ ल्याइँदै, उद्धार टोलीद्वारा जोखिमपूर्ण कार्य सुरु

आर्थिक पत्र
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा गत बिहीबार गएको भयानक हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा (‘निम्सदाई’) सहित १० जना आरोहीहरूको शव सङ्कलन तथा स्थानान्तरणको जटिल र जोखिमपूर्ण कार्य सुरु भएको छ।

    अभियानका नेता तथा वरिष्ठ पर्वतारोही मिङ्मा डेभिड शेर्पाका अनुसार उद्धार टोलीका सदस्यहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै विभिन्न चरणमा शवहरू तल ल्याउने काम भइरहेको छ।

    भौगोलिक विकटता र उच्च हिमाली क्षेत्रका कारण सोझै हेलिकप्टरमार्फत शव उठाउन असम्भव भएपछि पहिलो चरणमा भू-उद्धार टोलीले शवहरूलाई माथिल्लो क्षेत्रबाट क्याम्प-१ सम्म पैदलै ल्याइरहेको छ।

    मौसम अनुकूल रहेमा सोमबारसम्ममा क्याम्प-१ बाट शवहरूलाई अलि तल रहेको ‘जापानीज क्याम्प’ सम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

    अभियानबारे जानकारी दिँदै मिङ्मा डेभिड शेर्पाले भने, ‘यस कठिन मिसनको मुख्य उद्देश्य हाम्रा दिवङ्गत साथीहरूलाई सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक घर फर्काउनु हो। उद्धारमा खटिएका टोलीको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो र हरेक निर्णय त्यसैलाई ध्यानमा राखेर लिइएको छ।’

    मौसम स्थिर रहेमा र थप हिमपहिरोको जोखिम नभएमा जापानीज क्याम्पमा तयारी अवस्थामा राखिएका पाकिस्तानी सेनाको एभिएसन हेलिकप्टरमार्फत शवहरूलाई तल उपत्यकातर्फ लगिनेछ।

    यस दुःखद् घटनापछि नेपाल सरकार, पाकिस्तान सरकार, दुवै देशका दूतावास, पाकिस्तानी सेना, एल्पाइन क्लब अफ पाकिस्तान र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले देखाएको तीव्र समन्वय र सहयोगप्रति शेर्पाले गहिरो आभार व्यक्त गरेका छन्।

    अत्यधिक जोखिमपूर्ण अवस्थामा भइरहेको यो उद्धार कार्य सफल पार्न र दिवङ्गत आरोहीहरूलाई स्वदेश फर्काउन आयोजकहरूले विश्वभरका शुभचिन्तकहरूसँग धैर्यता र प्रार्थनाको अपिल गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार