काठमाडौं । हिम पर्वत हाइड्रोपावरले कात्तिक ११ गते बुधबारदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ । उक्त शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री गरिनेछ ।
कुल निष्कासनमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको १६ लाख ९० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । यसमध्ये १० लाख १४ हजार कित्ता शेयर आयोजनाबाट अति प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरिनेछ ।
दोलखाको बिगु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का बासिन्दालाई अति प्रभावित क्षेत्रअन्तर्गत राखिएको छ । बाँकी ६ लाख ७६ हजार कित्ता शेयर यी दुई गाउँपालिकाका अन्य वडाका स्थानीय बासिन्दाका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको ४ लाख २२ हजार ५०० कित्ता शेयर निष्कासन गरिनेछ । यो सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत हो ।
आईपीओमा आवेदन दिने लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले छिटोमा कात्तिक २५ गतेसम्म र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिने समय तोकिएको छ ।
स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक, प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।


