काठमाडौं । बजारमा १४.२ किलोको पूरा तौल भएको सिलिन्डर पठाउन थालेलगत्तै राजधानीमा खाना पकाउने ग्यासको अभाव चर्किएको छ। नेपाल आयल निगमले मागभन्दा बढी ग्यास आयात भएको दाबी गरे पनि उपभोक्ताहरू खाली सिलिन्डर बोकेर डिपो तथा उद्योग धाउन बाध्य भएका छन्।
यसअघि २०८२ फागुन अन्तिमदेखि ७.१ किलोको आधा सिलिन्डर बिक्री गर्दै आएको निगमले गत असार ३१ देखि पूरा तौलको सिलिन्डर बिक्री गर्ने निर्णय गरेसँगै आपूर्तिमा समस्या देखिएको हो। टोल-टोलका डिलर र पसलहरूमा ग्यास नपाएपछि उपभोक्ताहरू बालाजुस्थित नेपाल ग्यास उद्योगको वितरण कक्षबाहिर लाइन बस्न पुगेका छन्।
बजारमा कृत्रिम अभाव सिर्जना गरिएको उपभोक्ताको आरोप छ। समस्या समाधानका लागि निगमले शनिबारदेखि टेकुस्थित पुरानो कार्यालयबाट नेपाल, एचपी, एभरेस्ट, सुगम र श्रीराम ब्रान्डको ग्यास बिक्री थाले पनि त्यहाँसमेत उपभोक्ताको अत्यधिक भीड लागेको छ।

