Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

१५ दिनमा योग्य कारोबार ११ लाख नजिक: पहिलो उपहार घोषणाको तयारी गर्दै आन्तरिक राजस्व विभाग

१५ दिनमा योग्य कारोबार ११ लाख नजिक: पहिलो उपहार घोषणाको तयारी गर्दै आन्तरिक राजस्व विभाग

आर्थिक पत्र
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं। सरकारले सुरु गरेको ‘करदाता उपहार प्रोत्साहन कार्यक्रम’ अन्तर्गत योग्य कारोबारको संख्या तीव्र रूपमा बढ्दै गएको छ।

    आन्तरिक राजस्व विभागका अनुसार सोमबार मध्याह्न १२ बजेसम्ममा उपहार कार्यक्रमका लागि योग्य मानिएका कारोबार र पेस गरिएका बिजकको संख्या १० लाख ८२ हजार ६२२ पुगेको छ। यसमा क्यूआर कोडमार्फत गरिएको भुक्तानी र नगद कारोबार गरी प्रणालीमा अपलोड गरिएका भौतिक बिलहरूसमेत समावेश छन्।

    विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म क्यूआर कोडमार्फत भएका १० लाख ७४ हजार ७९६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भइसकेका छन्।

    यसैगरी, शनिबारदेखि खुला गरिएको भौतिक बिल अपलोड गर्ने सुविधाअन्तर्गत सोमबार मध्याह्नसम्म ३ हजार ४२७ वटा नगद कारोबारका बिल प्रणालीमा प्रविष्ट भइसकेका छन्। पहिलो चरणको उपहार घोषणा हुनु अघिल्लो दिनसम्म उपभोक्ताले नगद कारोबार गरी प्राप्त गरेका पुराना भौतिक बिलहरूसमेत पठाउन सकिने भएकाले यो संख्या अझै बढ्ने विभागको अनुमान छ।

    चालु आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गर्नुभएको यो कार्यक्रमअन्तर्गत १०० रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने जोकसैले भाग लिन पाउने व्यवस्था छ।

    यस योजनामा सरकारले दैनिक एक जना भाग्यशाली उपभोक्तालाई नियमअनुसार कर कट्टी गरेर नगद एक लाख रुपैयाँ र हरेक १५-१५ दिनमा एक जनालाई बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ (करसहित) प्रदान गर्नेछ।

    साउन १ देखि १५ गतेसम्मको पहिलो १५ दिनको अवधिमा १५ जनालाई दैनिक एक-एक लाख र एक जनालाई बम्परमा १० लाख रुपैयाँ पुरस्कार वितरणका लागि विभागले छिट्टै भाग्यशाली विजेताको घोषणा गर्दै छ।

    सुरुमा साउन १६ गते उपहार घोषणा गर्ने भनिए पनि केही प्राविधिक तयारी बाँकी रहेकाले सामान्य ढिलाइ भएको विभागले स्पष्ट पारेको छ। शनिबारदेखि करदाता प्रोत्साहन पोर्टलसमेत सञ्चालनमा आइसकेकाले उपहार घोषणा हुनु अघिल्लो दिनसम्म आफूले लिएका नगद कारोबारका बिलहरू प्रणालीमा प्रविष्ट (अपलोड) गर्न विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार