Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

आर्थिक पत्र
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट चार्जमा भएको उल्लेख्य वृद्धिका कारण कृषि विकास बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमाससम्म २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.५२ प्रतिशतले कम हो ।

    अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ३ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको खुद सञ्चालन आम्दानी १० अर्ब ४ करोड रुपैयाँ तथा सञ्चालन मुनाफा ३ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

    बैंकको नाफामा दबाब सिर्जना गर्ने प्रमुख कारणमध्ये इम्पेयरमेन्ट चार्जको वृद्धि रहेको देखिएको छ । समीक्षा अवधिमा बैंकले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि १ अर्ब १७ करोड ९० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्टाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ६३ करोड रुपैयाँ मात्र रहेको थियो ।

    नाफामा गिरावट आए पनि बैंकको निक्षेप तथा कर्जा विस्तार भने सकारात्मक रहेको छ । बैंकको कुल निक्षेप एक वर्षमा २ खर्ब ९३ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी कर्जा प्रवाह २ खर्ब १२ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यद्यपि बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ३.४४ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा ४.०७ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै बैंकले कर्जा नोक्सानी व्यवस्थापनका लागि थप प्रबन्ध गर्नुपरेको देखिन्छ ।

    बैंकको वितरणयोग्य मुनाफामा पनि उल्लेख्य गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ८१ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा घटेर १ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ । यसले बैंकको लाभांश वितरण क्षमतामा समेत प्रत्यक्ष असर परेको छ ।

    खुद नाफा र वितरणयोग्य मुनाफा दुवैमा आएको गिरावटका कारण बैंकको लाभांश क्षमता १७.९८ प्रतिशतबाट झरेर ६.५४ प्रतिशतमा सीमित भएको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६.११ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ८९३.६१ रुपैयाँ तथा तरलता अनुपात ३७.४५ प्रतिशत कायम रहेको बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार