भद्रपुर । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
कार्यालयले गत आर्थिक वर्षमा छ अर्ब छ करोड ८६ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। सो लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित कुल राजस्वमध्ये आयकरबाट सबैभन्दा बढी दुई अर्ब ४१ करोड ६१ लाख सात हजार रुपैयाँ प्राप्त भएको छ। यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) बाट एक अर्ब ६६ करोड २९ लाख ९५ हजार रुपैयाँ र अन्तःशुल्कबाट ६७ करोड ८९ लाख पाँच हजार रुपैयाँ सङ्कलन भएको छ।
त्यसैगरी, भाडा आयकरबाट पाँच करोड ६६ लाख ७८ हजार रुपैयाँ, ब्याज करबाट नौ करोड ३६ लाख ८० हजार रुपैयाँ तथा अन्य शीर्षकबाट दुई करोड ६३ लाख २१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरको कार्यक्षेत्रमा इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला रहेका छन्। कार्यालयले यी जिल्लाबाट कर तथा राजस्व सङ्कलन गर्दै आएको छ।

