काठमाडौं। वित्तीय खर्चमा उल्लेख्य कमी आएपछि सानिगाड हाइड्रो लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार आएको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ३९०.१५ प्रतिशत (झन्डै चार गुणा) ले बढेको हो।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा २६ करोड ५८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५ करोड ४२ लाख रुपैयाँ मात्र थियो।
नाफामा आएको यो वृद्धिको मुख्य कारण वित्तीय खर्चमा भएको बचत हो। अघिल्लो आवको चौथो त्रैमासमा ५७ करोड ५१ लाख रुपैयाँ रहेको यस्तो खर्च समीक्षा अवधिमा घटेर ४० करोड ४७ लाख रुपैयाँमा झरेको छ। यसरी कम्पनीले एक वर्षको अवधिमा करिब १७ करोड रुपैयाँ वित्तीय खर्च घटाउन सफल भएको छ।
यसैगरी विद्युत् बिक्रीबाट हुने आम्दानीमा पनि ३.६९ प्रतिशतको सामान्य वृद्धि भई १ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीले अन्य शीर्षकबाट १ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ।
कम्पनीले सञ्चालन खर्चमा पनि केही नियन्त्रण कायम गरेको छ। अघिल्लो आवमा २ करोड ५१ लाख रुपैयाँ रहेको अन्य सञ्चालन खर्च घटेर २ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ। नाफामा सुधार आएसँगै कम्पनीको सञ्चित नाफा (रिजर्भ) ९ करोड १२ लाख रुपैयाँबाट बढेर ३३ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
हाल २ अर्ब ८५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २.७२ रुपैयाँबाट बढेर ९.३३ रुपैयाँ कायम भएको छ। त्यसैगरी प्रतिसेयर नेटवर्थ पनि १०४.५७ रुपैयाँबाट वृद्धि भई १११.८० रुपैयाँ पुगेको छ।
ऋणको लागत घट्दै जानु र विद्युत् बिक्री आम्दानी स्थिर रहनुले कम्पनीको समग्र वित्तीय अवस्था थप मजबुत बन्दै गएको देखिएको छ।

