Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिंहदरबारभित्रै खुल्यो सुलभ मूल्यको खाद्य बिक्री कक्ष, उद्योगमन्त्री यादवद्वारा उद्घाटन

सिंहदरबारभित्रै खुल्यो सुलभ मूल्यको खाद्य बिक्री कक्ष, उद्योगमन्त्री यादवद्वारा उद्घाटन

आर्थिक पत्र
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबार परिसरभित्र सञ्चालनमा ल्याइएको ‘सुलभ मूल्यको खाद्य बिक्री कक्ष’को बिहीबार उद्घाटन गरेकी छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसर पारेर उपभोक्ताको सुविधाका लागि उक्त कक्ष सञ्चालनमा ल्याएको हो।

    सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा स्थापना गरिएको यस बिक्री कक्षमा करिब १२४ प्रकारका दैनिक उपभोग्य तथा खाद्य सामग्रीहरू बिक्री-वितरणका लागि राखिएका छन्।

    खुला बजारमा खाद्यवस्तुको मूल्यमा हुने अस्वाभाविक वृद्धि नियन्त्रण गर्ने र महँगीका कारण उपभोक्तामाथि पर्ने आर्थिक भार कम गर्ने उद्देश्यसहित यो बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो। यस कक्षबाट उपभोक्ताले बजार मूल्यभन्दा सस्तो र सुलभ दरमा अत्यावश्यक वस्तुहरू खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ।

    बिक्री कक्षको उद्घाटन गर्दै मन्त्री यादवले आम उपभोक्तालाई सहज, गुणस्तरीय र सुलभ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। सरकारी स्वामित्वको कम्पनीमार्फत नै गुणस्तरीय सामान बजारमा पठाउँदा मूल्य नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

    सिंहदरबारको केन्द्रमै सुलभ मूल्यको पसल सञ्चालनमा आएपछि त्यहाँ कार्यरत कर्मचारी, विभिन्न मन्त्रालयमा आउने सेवाग्राही तथा आसपासका सर्वसाधारणले समेत सहज रूपमा आवश्यक खाद्य सामग्री खरिद गर्न सक्ने अपेक्षा गरिएको छ।

    सरकारी निकायले सञ्चालन गरेको यो बिक्री केन्द्रले बजारमा मूल्य सन्तुलन कायम राख्न र उपभोक्तालाई राहत दिने सरकारी प्रयासलाई थप प्रभावकारी बनाउने देखिन्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार