काठमाडौँ। यती डिस्टिलरी प्राइभेट लिमिटेडको कुल आम्दानीमा सीमित ब्रान्डहरूको उच्च निर्भरता देखिएको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामा कम्पनीको कुल आम्दानीको करिब ९१ प्रतिशत हिस्सा ‘ओल्ड दरबार’, ‘ओल्ड दरबार चिम्नी’ र ‘८८४८’ भोड्का गरी तीनवटा ब्रान्डबाट मात्रै प्राप्त भएको छ।
कम्पनीले ६ देखि ७ प्रकारका मदिराजन्य ब्रान्ड उत्पादन गर्दै आए पनि पछिल्ला तीन वर्षदेखि प्रमुख उत्पादनको आम्दानीमा योगदान ९० प्रतिशतभन्दा माथि रहँदै आएको हो। बजारमा तीव्र प्रतिस्पर्धा भइरहेको समयमा आम्दानीको ठूलो हिस्सा सीमित ब्रान्डमा केन्द्रित हुँदा व्यावसायिक जोखिम बढेको इक्रा नेपालले औंल्याएको छ।
सीमित ब्रान्डमा निर्भरता रहे पनि कम्पनीको सञ्चालन नाफा मार्जिनमा भने लगातार सुधार आएको छ। मूल्य पुनर्निर्धारणका कारण आर्थिक वर्ष २०२४ मा करिब २२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२५ मा २८ प्रतिशत र २०२६ मा बढेर करिब ३० प्रतिशत पुगेको छ।
यद्यपि, कम्पनीको सञ्चालन आम्दानी भने आर्थिक वर्ष २०२५ को ५ अर्ब ९१ करोड ८० लाख रुपैयाँको तुलनामा २०२६ मा सामान्य घटेर ५ अर्ब ८५ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। आम्दानी सामान्य घटे पनि नाफा मार्जिनमा सुधार र कर्जा दायित्व घटेकाले कम्पनीको समग्र वित्तीय प्रोफाइल बलियो बनेको छ।
कम्पनीले कुल ऋण तथा मूर्त नेटवर्थको अनुपात आर्थिक वर्ष २०२४ को १.४ गुणाबाट घटाएर २०२६ मा करिब ०.६ गुणामा झारेको छ भने लाभांश वितरण घटाएकाले ब्यालेन्ससिटमा तरलता सुधार भएको छ। तर ह्विस्की उत्पादनका लागि लामो समय मौज्दात राख्नुपर्ने र उधारो बिक्रीका कारण खुद कार्यशील पुँजीको आवश्यकता बढेको छ।
यसैगरी कच्चा पदार्थ आयातमा लामो अवधिका उसान्स एलसी प्रयोग गर्दा वैदेशिक विनिमय जोखिम बढेको छ, जसका कारण आर्थिक वर्ष २०२६ मा विदेशी मुद्रा नोक्सानी कम्पनीको आम्दानीको करिब ६ प्रतिशत बराबर पुगेको छ। नेपालमा मदिरामा उच्च भन्सार दर हुनुले घरेलु उत्पादकलाई संरक्षण मिले पनि आगामी दिनमा आयात शुल्क घटेमा वा नियामकीय कडाइ भएमा नाफामा दबाब पर्न सक्ने इक्रा नेपालको आकलन छ।

