काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशबाट फर्किएका रिटर्नी उद्यमीको सीप, अनुभव र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको आधार बनाउनुपर्ने बताएका छन्।
नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले नेपाल र गणतन्त्र कोरियाबीचको सम्बन्ध कूटनीतिक तथा सांस्कृतिक सम्बन्धमा मात्र सीमित नरही आर्थिक र व्यावसायिक साझेदारीका रूपमा समेत विकसित हुँदै गएको बताए।
कोरियामा रोजगारी गरेर फर्किएका हजारौं नेपाली युवाले हासिल गरेको सीप, प्रविधिको ज्ञान, कार्यअनुभव र पुँजी नेपालको उद्यमशीलता विकासका लागि महत्वपूर्ण सम्पत्ति भएको उनको भनाइ छ।
ढकालले करिब ६ दशकअघि गरिबीबाट औद्योगिक शक्तिका रूपमा अघि बढ्दा कोरियाले अपनाएको अनुशासित कार्यसंस्कृति, गुणस्तरमा जोड, प्रविधिको प्रयोग, निर्यातमुखी उत्पादन तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट नेपालले पनि सिक्नुपर्ने बताए।
रिटर्नी उद्यमीले विदेशमा सिकेको अनुशासन, उत्पादकत्व र कार्यसंस्कृतिलाई स्वदेशी उद्योगमा लागू गर्न सके नेपालको औद्योगिक क्षेत्रको चरित्रमा नै परिवर्तन ल्याउन सकिने उनले उल्लेख गरे।
उनले जलविद्युत्, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि तथा साना–मझौला उत्पादनमूलक क्षेत्रमा नेपालमा ठूलो लगानी सम्भावना रहेको बताए। भारत र चीनसँगको भौगोलिक निकटता तथा सुधार हुँदै गएको लगानी वातावरणका कारण नेपाललाई क्षेत्रीय उत्पादन केन्द्रका रूपमा विकास गर्ने अवसर रहेको उनको भनाइ छ।
लगानीमैत्री नीति निर्माण, प्रक्रियागत सुधार र एकद्वार सेवा प्रणालीका लागि सरकारसँग निजी क्षेत्रले निरन्तर संवाद गरिरहेको बताउँदै ढकालले यस अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
देशभर छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ अधिकृत पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी पनि उनले दिए। नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नी उद्यमीका लागि उक्त कम्पनी लगानी साझेदार बन्न सक्ने र सानो पुँजी भएका लगानीकर्ताले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत समेत लगानी गर्न सक्ने उनले बताए।
रिटर्नी उद्यमी–व्यवसायीसँग रहेको प्राविधिक सीप, कार्यसंस्कृति र आर्थिक अनुशासन नेपालको औद्योगिक क्षेत्रलाई आवश्यक रहेको उल्लेख गर्दै ढकालले स्वदेशमा उद्यम स्थापना गर्दा देखिने कानुनी तथा प्रक्रियागत अवरोध सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीचको निरन्तर संवादबाट समाधान गर्न सकिने बताए।
रिटर्नी उद्यमीको लगानी र सीपमार्फत स्वदेशमा उत्पादन, रोजगारी र आर्थिक समृद्धिको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गर्दै उनले एफएनसीसीआई र आईएमई ग्रुपका तर्फबाट आवश्यक सहयोग र सहकार्यका लागि आफूहरू सधैं तयार रहेको प्रतिबद्धता जनाए।
कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत, कोरियाली दूतावासका अधिकारी, नेपाल सरकारका प्रतिनिधि, रिटर्नी माइग्रेन्ट तथा विभिन्न क्षेत्रका उद्यमी–व्यवसायीहरूको सहभागिता रहेको थियो।

