काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा सरकारको राजस्व तथा अन्य प्राप्ति उल्लेख्य बढेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनमा सरकारको कुल प्राप्ति ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको साउनको तुलनामा सरकारी प्राप्ति करिब १० प्रतिशत अर्थात् ८ अर्ब २४ करोड रुपैयाँले बढेको हो।
साउनमा कर राजस्वबाट ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ र गैरकर राजस्वबाट ७ अर्ब ३ करोड ४७ लाख रुपैयाँ प्राप्त भएको छ। यस्तै, सरकारले २४ करोड ३ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको छ।
चालु आर्थिक वर्षमा सरकारले कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ राजस्व तथा अन्य प्राप्ति संकलन गर्ने लक्ष्य राखेको छ। साउनको प्राप्ति वार्षिक लक्ष्यको करिब ५.७ प्रतिशत हो।
एक महिनामा ४१ अर्ब ८८ करोड बजेट खर्च
राजस्व संकलन बढे पनि सरकारी खर्च भने सुस्त देखिएको छ। साउन मसान्तसम्म सरकारले ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ बजेट खर्च गरेको छ। यो वार्षिक बजेट विनियोजनको १.९७ प्रतिशत हो।
चालु आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ।
साउनसम्म चालुतर्फ २१ अर्ब ४० करोड ३८ लाख रुपैयाँ खर्च भएको छ। चालु खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसअनुसार चालु खर्चको १.६८ प्रतिशत मात्रै पहिलो महिनामा खर्च भएको छ।
पुँजीगत खर्चको अवस्था अझ कमजोर छ। ४ खर्ब ३१ अर्ब १० लाख ६३ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएकोमा साउनमा यसको ०.३१ प्रतिशत मात्रै खर्च भएको छ।
वित्तीय व्यवस्थातर्फ भने १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ। यो उक्त शीर्षकमा विनियोजित वार्षिक बजेटको ४.५३ प्रतिशत हो।
राजस्व संकलनमा सुरुवाती महिनामै सुधार देखिए पनि विकास खर्च, विशेषगरी पुँजीगत खर्चको गति निकै कमजोर रहेकाले सरकारका लागि बजेट कार्यान्वयनको चुनौती कायमै देखिएको छ।

