Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

साउनमा १९१ विदेशी लगानीका परियोजना स्वीकृत, ३ अर्ब ७७ करोडको प्रतिबद्धता

साउनमा १९१ विदेशी लगानीका परियोजना स्वीकृत, ३ अर्ब ७७ करोडको प्रतिबद्धता

आर्थिक पत्र
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा १९१ वटा विदेशी लगानीका परियोजना स्वीकृत भएका छन्। उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार ती परियोजनाका लागि कुल ३ अर्ब ७७ करोड २८ लाख ४० हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ।

    परियोजनाको संख्याका आधारमा सूचना प्रविधि तथा सञ्चार (आईसीटी) क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। साउनमा आईसीटीतर्फ मात्रै १२८ वटा परियोजना स्वीकृत भएका छन्। ती परियोजनाका लागि ५६ करोड ९८ लाख ४० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको प्रतिवेदनमा उल्लेख छ।

    त्यस्तै, पर्यटन क्षेत्रमा ३३ वटा परियोजना स्वीकृत भएका छन्। पर्यटनतर्फ १ अर्ब ६३ करोड ७८ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। सेवा क्षेत्रमा १९ वटा परियोजना स्वीकृत हुँदा ६८ करोड २० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ।

    उत्पादनमूलक क्षेत्रमा ९ वटा परियोजना स्वीकृत भएका छन्। ती परियोजनाका लागि ८४ करोड ३२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। ऊर्जा र कृषि तथा वनमा आधारित क्षेत्रमा भने एक–एक वटा परियोजना स्वीकृत भएका छन्। दुवै क्षेत्रमा २–२ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको प्रतिवेदनमा उल्लेख छ।

    खनिज तथा पूर्वाधार क्षेत्रमा भने साउनमा कुनै पनि विदेशी लगानी परियोजना स्वीकृत भएको छैन।

    कुल १९१ परियोजनामध्ये १२८ वटा अर्थात् करिब ६७ प्रतिशत परियोजना आईसीटी क्षेत्रका छन्। पर्यटन क्षेत्रका परियोजनाको हिस्सा करिब १७ प्रतिशत र सेवा क्षेत्रको करिब १० प्रतिशत रहेको विभागले जनाएको छ।

    उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउन अवधि जुलाई १७ देखि अगस्ट १६, २०२६ सम्मको हो। यस अवधिमा विदेशी लगानीसँग सम्बन्धित अन्य वित्तीय गतिविधिसमेत भएका छन्।

    प्रतिवेदनअनुसार साउनमा रोयल्टीतर्फ २४ करोड २१ लाख ९३ हजार ३८० रुपैयाँ ३६ पैसा र अमेरिकी डलरतर्फ ६ लाख ३३ हजार ६६६ दशमलव ९७ बराबरको रकम उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार