Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मर्चेन्ट बैंकरलाई सेबोनको कडाइ, आईपीओ निष्कासनदेखि वित्तीय साक्षरतासम्म नयाँ व्यवस्था

मर्चेन्ट बैंकरलाई सेबोनको कडाइ, आईपीओ निष्कासनदेखि वित्तीय साक्षरतासम्म नयाँ व्यवस्था

आर्थिक पत्र
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउन मर्चेन्ट बैंकरहरूका लागि नयाँ व्यवस्था लागू गरेको छ। बोर्डले निष्काशनकर्ता कम्पनीको अवस्था र वित्तीय विवरणको अध्ययनदेखि वित्तीय साक्षरता कार्यक्रम सञ्चालनसम्मका विषयमा मर्चेन्ट बैंकरलाई थप जिम्मेवार बनाउने गरी निर्देशन दिएको हो।

    अब कुनै कम्पनीको आईपीओ वा एफपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिनुअघि सम्बन्धित कम्पनीको वित्तीय तथा व्यवस्थापकीय अवस्था राम्रोसँग अध्ययन गर्नुपर्नेछ। साथै कम्पनीसँग आफ्नो स्वार्थ बाझिने अवस्था अर्थात् स्वार्थको द्वन्द्व भए–नभएको समेत मर्चेन्ट बैंकरले हेर्नुपर्नेछ भने आवश्यक अध्ययन नगरी निष्कासनको प्रक्रिया अघि बढाउन नपाइने व्यवस्था गरिएको छ।

    यसैगरी बोर्डमा आवेदन दिएर प्रक्रियामा रहेका आईपीओका लागि पनि वित्तीय मापदण्ड पूरा भएको सुनिश्चित गर्नुपर्ने भएको छ। सम्बन्धित कम्पनीको आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन वा लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरणका आधारमा तोकिएको मापदण्ड पूरा भए–नभएको जाँच गर्नुपर्नेछ।

    मर्चेन्ट बैंकरले सम्बन्धित कम्पनीले प्रचलित नियम तथा मापदण्ड पालना गरेको सुनिश्चित गर्दै त्यसको विवरणसहितको कम्प्लायन्स रिपोर्ट पनि बोर्डमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै नयाँ व्यवस्थाअनुसार प्रत्येक मर्चेन्ट बैंकरले महिनामा कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। धितोपत्र ऐन, २०६३ को अधिकार प्रयोग गर्दै बोर्डले यी निर्देशन जारी गरेको हो। पूँजी बजारमा कम्पनीको प्रवेश, धितोपत्र निष्कासन तथा लगानीकर्ताको जानकारी र सचेतनासँग जोडिएका विषयलाई व्यवस्थित गर्ने उद्देश्यले निर्देशन दिइएको बोर्डले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार