Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रसुवा बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र आपत्कालीन टेन्ट पठाउने

रसुवा बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र आपत्कालीन टेन्ट पठाउने

आर्थिक पत्र
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितका लागि आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ ।

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले बाढी प्रभावित करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै, प्रभावित क्षेत्रमा २४ वर्गमिटरका १५ वटा आपत्कालीन टेन्ट पनि पठाइने भएको छ ।

    मन्त्रालयका अनुसार बाढी प्रभावितका लागि काठमाडौंस्थित वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको छ । बाढीका कारण घाइते भएका तीन जनालाई उद्धार गरी काठमाडौं ल्याइसकिएको मन्त्रालयले जनाएको छ ।

    आपत्कालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन काठमाडौंस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटसँग पनि समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा आवश्यक औषधि–उपकरणको आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार