Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भोटेकोशी बाढीबाट ठूलो क्षति, उद्धार तथा राहतमा जुट्न उद्योग वाणिज्य महासंघको अपिल

भोटेकोशी बाढीबाट ठूलो क्षति, उद्धार तथा राहतमा जुट्न उद्योग वाणिज्य महासंघको अपिल

आर्थिक पत्र
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनमा सक्रिय हुन उद्योगी–व्यवसायी तथा सर्वसाधारणलाई अपिल गरेको छ।

    महासंघले बाढीको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भएकाले त्रिशूली नदीसँग जोडिएका सबै तटीय क्षेत्र उच्च जोखिममा रहेको जनाएको छ। पृथ्वी राजमार्गसहित उक्त करिडोरका सडकमा आवागमन रोक्न सरकारले आग्रह गरिसकेकाले तटीय तथा प्रभावित क्षेत्रका उद्योगी–व्यवसायी, सर्वसाधारण र यात्रुलाई उच्च सतर्कता अपनाउन महासंघले आग्रह गरेको छ।

    बाढीबाट भएको क्षतिको आधिकारिक विवरण आउन बाँकी रहे पनि प्रारम्भिक विवरणले ठूलो क्षति भएको देखिएको महासंघले जनाएको छ। महासंघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

    महासंघले बाढीबाट प्रभावित सर्वसाधारण, स्वदेशी तथा विदेशी तीर्थयात्री, उद्योगी–व्यवसायी तथा समुदायको साथमा रहेको जनाएको छ। विपद् व्यवस्थापनका लागि आफ्नोतर्फबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको पनि महासंघले स्पष्ट पारेको छ।

    बाढीका कारण घर, पसल, निजी तथा सार्वजनिक सवारीसाधन, मालवाहक सवारीसाधन, भन्सार यार्डमा रहेका सवारीसाधन, पुल तथा जलविद्युत् आयोजनालगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ। आगामी दिनमा पुनःस्थापना र पुनर्निर्माणका काममा समेत साथ दिने महासंघले जनाएको छ।

    महासंघले मातहतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र सम्पूर्ण उद्योगी–व्यवसायीलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी  उद्धार, राहत र सुरक्षा व्यवस्थापनमा तत्काल सक्रिय हुन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार