Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्ता

रसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्ता

आर्थिक पत्र
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीलाई अनिश्चित समयका लागि पूर्ण रूपमा ठप्प बनाएको छ। बाढीका कारण चीनबाट नेपालतर्फ सामान बोकेर आउँदै गरेका ५०० भन्दा बढी कन्टेनर बाढीको भेलमा बगेपछि बेपत्ता भएका छन्।

    यस घटनाले नेपालको आपूर्ति व्यवस्थामा ठूलो असर पार्ने देखिएको छ। विशेषगरी नजिकिँदै गरेका दशैं, तिहारलगायतका ठूला चाडपर्वलाई लक्षित गरी चीनबाट ल्याइँदै गरेका विभिन्न सामग्रीको आपूर्तिमा दबाब पर्ने जोखिम बढेको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।

    संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार बाढीबाट भएको मानवीय क्षति सबैभन्दा ठूलो र दुःखद पक्ष हो। त्यससँगै व्यापारिक क्षेत्रमा पनि ठूलो क्षति पुगेको उनले बताएका छन्। बाढीमा ५०० भन्दा बढी मालवाहक कन्टेनर बगेपछि व्यापारीहरूको ठूलो लगानी डुबेको छ।

    बेपत्ता भएका कन्टेनरमा दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, फलफूल, महँगा इलेक्ट्रोनिक्स सामग्री तथा विद्युतीय सवारीसाधन (ईभी) लगायतका सामान रहेको बताइएको छ। महासचिव पराजुलीले प्रारम्भिक रूपमा क्षति अरबौं रुपैयाँ बराबर हुन सक्ने बताएका छन्।

    बाढीले सडक तथा पुलमा समेत क्षति पुर्‍याएपछि सीमाक्षेत्रको अवस्था थप जटिल बनेको छ। चीनबाट नेपालमा ठूलो परिमाणमा सामान भित्रिने प्रमुख नाका रसुवागढी लामो समय अवरुद्ध भएमा बजारमा विभिन्न वस्तुको अभावसँगै मूल्यवृद्धिको जोखिम बढ्न सक्छ।

    यसैबीच, नेपाल हिमालय सीमापार वाणिज्य संघले बाढीबाट भएको क्षति तथा व्यापार क्षेत्रमा परेको असरबारे गृहमन्त्री र गृह मन्त्रालयका उच्च अधिकारीहरूसँग छलफल अघि बढाएको जनाएको छ। सरकारले पनि घटनाको विस्तृत विवरण संकलन तथा क्षतिको यकिन मूल्यांकन गर्ने काम अघि बढाएको छ।

    चाडपर्वको मुखमा चीनसँगको प्रमुख व्यापारिक नाका अवरुद्ध हुँदा आपूर्ति शृंखलामा पर्ने असरलाई लिएर व्यापारी तथा उपभोक्ता दुवै चिन्तित बनेका छन्। नाका लामो समयसम्म सञ्चालनमा आउन नसके बजारमा सामानको अभाव र महँगी बढ्ने जोखिम रहन सक्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार