काठमाडौं। मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच ढुवानी व्यवसायीलाई सवारीसाधन खरिद तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउने समझदारी भएको छ।
समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघका अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार महासंघमा आबद्ध सदस्यले ढुवानी व्यवसायका लागि आवश्यक जुनसुकै ब्रान्डका सवारीसाधन खरिद गर्न र व्यवसाय सञ्चालन गर्न बैंकबाट कर्जा लिन सक्नेछन्। बैंकले आफ्ना १७६ वटै शाखामार्फत कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ।
ढुवानी व्यवसायीलाई सहज वित्तीय पहुँच उपलब्ध गराएर व्यवसाय विस्तारमा सहयोग पुर्याउने उद्देश्यले सहकार्य गरिएको बैंकले जनाएको छ। कर्जा सहुलियत ब्याजदरमा उपलब्ध गराइने बताइएको छ।
बैंकले हाल अटो कर्जा, कृषि कर्जा र एसएमई कर्जामा समेत न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष योजना सञ्चालन गरिरहेको जनाएको छ।

