काठमाडौं। सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको र सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रुपले उक्त रकम कोषमा जम्मा गरेको हो।
विपद्को यस कठिन घडीमा विदेशमा रहेका नेपालीहरूले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय बाढी आएको दिनदेखि नै लागू गरिएको कम्पनीले जनाएको छ।
विनाशकारी बाढीमा परी ज्यान गुमाउने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सिटी एक्सप्रेस ग्रुपले शोक-सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति कम्पनीले हार्दिक कृतज्ञतासमेत व्यक्त गरेको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत २० वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

