Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अहिले शोक मनाउने समय होइन, हामी विपद्सँग लडिरहेका छौं : प्रधानमन्त्री

अहिले शोक मनाउने समय होइन, हामी विपद्सँग लडिरहेका छौं : प्रधानमन्त्री

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले रसुवाको भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीको महाविपद्का बिच अहिले शोक मनाउने समय नभएको भन्दै सरकार सम्पूर्ण तागतका साथ खोजी, उद्धार र राहतमा जुटिरहेको बताएका छन्।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढी, पहिरो र डुबानले पुर्‍याएको अकल्पनीय क्षतिबारे सदनलाई विस्तृत जानकारी गराएका हुन्।

    “हामी यतिबेला ठूलो प्राकृतिक विपद्सँग लडिरहेका छौँ, यो शोक मनाएर बस्ने समय होइन,” सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भने, “अन्तिम व्यक्तिसम्म नपुगेसम्म खोजी र उद्धारको कार्य रोकिने छैन।”

    संसद्‌मा बोल्दै प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै निजी क्षेत्र र अन्तर्राष्ट्रिय उद्धार टोलीसहित हजारौँ सुरक्षाकर्मीहरू दिनरात खटिएर कार्य गरिरहेको जानकारी दिए।

    बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ (टनेल) हरूमा फसेका कामदार तथा प्राविधिकहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको र कठिन भौगोलिक अवस्थाका बिच हवाई तथा जमिनी दुवै माध्यमबाट उद्धार तीव्र पारिएको उनले बताए।

    यसैगरी, बाढीबाट १,१०० भन्दा बढी नागरिकको मृत्यु भइसकेको र अझै हजारौँ बेपत्ता रहेको विषम परिस्थितिमा पहिचान हुन नसकेका शवहरूको डिएनए  नमुना सुरक्षित राखेर मात्र अन्तिम संस्कार गर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्रीले सदनलाई अवगत गराए।

    प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा खाद्यान्न, औषधी, र सञ्चार सम्पर्क पुनःस्थापित गर्ने काम भइरहेको बताउँदै सरकार बाढीपीडित नागरिकको साथमा रहेको र उद्धार तथा पुनर्स्थापनामा साधन-स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

    साथै, उनले यस राष्ट्रिय विपद्को घडीमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणलाई संयमित भई एकताबद्ध हुन अपिलसमेत गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार