Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कर्मचारी सञ्चय कोषले बाढीपीडितका लागि २ करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषले बाढीपीडितका लागि २ करोड ५० लाख सहयोग

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं ।  कर्मचारी सञ्चय कोषले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि २ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

    कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। कोष सञ्चालक समितिका अध्यक्ष भूपाल बराल, प्रशासक विजयकुमार श्रेष्ठलगायत अधिकारीले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

    भदौ १० मा रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवालगायत आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। प्रभावित नागरिकको तत्कालीन उद्धार तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले कोषले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

    चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्लेले विपद्को समयमा कर्मचारी सञ्चय कोषले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

    कोषका अध्यक्ष बरालले प्राकृतिक विपद्, भूकम्प, महामारीलगायत राष्ट्रिय संकटका समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको बताए। सोही निरन्तरताअन्तर्गत पछिल्लो सहयोग गरिएको उनको भनाइ छ।

    कोषका प्रशासक श्रेष्ठले विपद्बाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। आगामी दिनमा पनि राष्ट्रिय संकटका समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने उनले बताए।

    कोषले बाढी तथा पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार