Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

राष्ट्र बैंकले २४ अर्ब १० करोड मुद्दतीमा राख्दै, बैंक तथा वित्त कम्पनीबाट ब्याजदर माग

राष्ट्र बैंकले २४ अर्ब १० करोड मुद्दतीमा राख्दै, बैंक तथा वित्त कम्पनीबाट ब्याजदर माग

आर्थिक पत्र
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २४ अर्ब १० करोड ७४ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ। राष्ट्र बैंकले वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र राष्ट्रियस्तरका वित्त कम्पनीबाट ब्याजदर प्रस्ताव मागेको छ।

    राष्ट्र बैंकका अनुसार कुल लगानीयोग्य रकममध्ये वाणिज्य बैंकका लागि १९ अर्ब २८ करोड ५९ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकका लागि ३ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीका लागि १ अर्ब २० करोड ५४ लाख रुपैयाँ छुट्याइएको छ।

    राष्ट्र बैंकले सेप्टेम्बर १४, २०२६ देखि सेप्टेम्बर १४, २०२७ सम्म ३६६ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो।

    लगानीका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ। त्यस्तै, राष्ट्र बैंकले तोकेको न्यूनतम कुल पुँजीकोष अनुपात कायम गरेको, निष्क्रिय कर्जा अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा बढी नभएको हुनुपर्नेछ।

    बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति र कर्जा–निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको तथा अघिल्लो आर्थिक वर्षमा खुद नाफामा रहेको हुनुपर्नेछ। शीघ्र सुधारात्मक कारबाहीमा परेका संस्थाले कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा गरेको हुनुपर्नेछ।

    राष्ट्र बैंक ऐनअनुसार समस्याग्रस्त घोषणा नभएको वा त्यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको संस्था मात्र प्रस्ताव पेश गर्न योग्य हुनेछन्।

    राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर खुलाएर भदौ २२ गते राति १२ बजेसम्म प्रस्ताव पठाउन भनेको छ। प्रस्तावको पासवर्ड भने भदौ २३ गते राति १२ बजेसम्म उपलब्ध गराउनुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार