काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले १ः१ अनुपातमा १ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ। कम्पनीले हकप्रद सेयरबाट उठ्ने १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानीमा प्रयोग गर्ने भएको छ।
संखुवासभामा रहेको १४.९० मेगावाट क्षमताको माया खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ। कम्पनीले चुक्ता पुँजीको १ः१ अनुपातमा १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
विद्युत् नियमन आयोगको भदौ १७ गतेको निर्णयअनुसार कम्पनीलाई हकप्रद निष्कासनका लागि पूर्वस्वीकृति दिइएको हो। आयोगको ३१७औं बैठकको निर्णयअनुसार कम्पनीले हकप्रदबाट प्राप्त रकम कन्सोर्टियम बैंकको ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ।
कम्पनीका अनुसार सिटिजन्स बैंक र हिमालयन बैंकमा २०८२ पुस मसान्तसम्म कुल २ अर्ब ४२ करोड १५ लाख १ हजार ५१७ रुपैयाँ ऋण बक्यौता रहेको थियो। सोहीमध्ये अद्यावधिक कर्जा भुक्तानीका लागि हकप्रदबाट प्राप्त १ अर्ब रुपैयाँ प्रयोग गरिनेछ।
कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ र जारी पुँजी पनि २ अर्ब रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ।
आयोगले ‘विद्युत्सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८’ को दफा ७ र ९ बमोजिम विभिन्न सर्तसहित हकप्रद निष्कासनको पूर्वस्वीकृति दिएको हो।

