Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

निर्वाचन नजिकिँदै गर्दा अमेरिकी किसानलाई १५ अर्ब डलरको राहत घोषणा

निर्वाचन नजिकिँदै गर्दा अमेरिकी किसानलाई १५ अर्ब डलरको राहत घोषणा

आर्थिक पत्र
सोमवार, कार्तिक १७ २०८३
  • एजेन्सी – अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इन्धन र मलको मूल्यवृद्धिबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग प्याकेज घोषणा गरेको छ । 

    images

    अमेरिकी कृषि मन्त्रालयका अनुसार डिजेलको बढ्दो खर्च व्यहोरेका किसानलाई आठ अर्ब डलर एकपटकका लागि भुक्तानी गरिनेछ । त्यस्तै, पशुपालक तथा माछापालकका लागि पाँच अर्ब डलर बराबरको ऋण प्रत्याभूति उपलब्ध गराइनेछ ।

    मल उत्पादन, मासु प्रशोधन तथा विशेष बालीसम्बन्धी परियोजनाका लागि पनि सरकारले रकम छुट्याएको छ । यसअघि सन् २०२५ को बाली वर्षका लागि योग्य किसानलाई १३ अर्ब ८० करोड डलर भुक्तानी गर्ने योजना सार्वजनिक गरिएको थियो ।

    तर कृषि व्यवस्थापन विशेषज्ञ ग्रेग इबेन्डहलले सरकारी सहयोगले किसानलाई तत्काल राहत दिए पनि उत्पादन लागत बढ्नुका दीर्घकालीन समस्या समाधान नगर्ने टिप्पणी गरेका छन् ।

    मल र इन्धनको मूल्यवृद्धिसँगै चीनसँगको व्यापार तनावका कारण अमेरिकी किसानको आम्दानी प्रभावित भएको छ । अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए) का अनुसार डिजेलको औसत मूल्य प्रतिग्यालन ६.३२ डलर पुगेको छ, जुन एक वर्षअघिको तुलनामा ७० प्रतिशत बढी हो ।

    किसान र ग्रामीण क्षेत्रका मतदाता ट्रम्पका महत्त्वपूर्ण समर्थक मानिए पनि उनका केही नीतिप्रति असन्तुष्टि बढिरहेको विश्लेषकहरूको भनाइ छ । राहत घोषणाका बाबजुद जीवनयापन खर्च र स्वास्थ्य सेवाको विषय मतदाताका लागि महत्त्वपूर्ण बनेको छ ।

    मध्यावधि निर्वाचनको दुई दिनअघि ट्रम्पले किसान तथा ग्रामीण मतदातालाई लक्षित गर्दै आयोवा र कन्सासको भ्रमणसमेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार