काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता रकम २३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । निगमले करिब ३ महिनाअघि सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण रकम जुटाएर आईओसीलाई भुक्तानी गरेको थियो ।
हाल नाफामा रहे पनि निगमले बक्याैता रकम घटाउन सकेको छैन । सरकार, राष्ट्रिय वाणिज्य बैंक र आईओसीलाई गरी हाल तिर्नुपर्ने रकम ३३ अर्ब ६० करोड पुगेको निगमले जनाएको छ ।
युक्रेनमाथि रसियाको आक्रामणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा निगमको नोक्सानी ह्वात्तै बढेको थियो । पछिल्लो तीन महिनायता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएपनि आईओसीलाई तिर्नुपर्ने वक्यौता रकम उच्च भएकै कारण निगमले नेपालमा सोअनुसार मूल्य घटाएन ।
पेट्रोल, मट्टितेल, हवाई इन्धन बिक्रीमा निगम नाफामा छ । हाल निगमलाई डिजेलमा भने प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा नोक्सानी छ । अहिले समग्रमा पाक्षिक करिब ३९ करोड नाफामा रहेको निगमले मूल्य घटाउन आनाकानी गर्दै आएको छ । हाल अमेरिकी डलरको मूल्य वृद्धिले पनि इन्धनको मूल्य घट्न सकेको छैन । दुई दिनअघि मात्रै आईओसीले निगमलाई पठाएको मूल्य सूचीअनुसार अघिल्लो सूचीको तुलनामा पेट्रोल १ रुपैयाँ ३४ पैसा र डिजेल १५ रुपैयाँ ६० पैसा बढेर आएको छ । आईओसीले १५–१५ दिनमा मूल्यसूची पठाउने गर्छ ।


