Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन

त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन

आर्थिक पत्र
आइतवार, कार्तिक ६ २०७९
  • काठमाडौं।  त्रिशूली जलविद्युत कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम चुक्ता गर्न झन्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन् । कम्पनीले सेयरबापतको रकम बुझाउन गत ४ असोजबाट आवेदन माग गरेको थियो । 

    images

    कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रूपैयाँ बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीमध्ये झन्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० रूपैयाँ बुझाएका हुन् । यसबाट १६ करोड १० लाख रूपैयाँ संकलन भएको छ । 

    साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रूपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रूपैयाँ संकलन गरिने छ । आगामी १७ कात्तिक आवेदन दिने अन्तिम दिन हो । कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले अन्तिमअगावै आवेदन दिन सेयरधनीहरूलाई आग्रह गरे ।

    जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ चैतमा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएकोसमेत) सेयर निष्कासन गरी प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनुपर्ने छ । 

    रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत व्याज दिनुपर्ने प्रावधानबमोजिम सेयरधनीले प्रति कित्ता तीन रुपैयाँ व्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने छ । 
    आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एन्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरूले रकम बुझाउन÷आवेदन दिन सक्नेछन् । सेयरधनीहरूले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्कसमेत तिर्नुपर्ने छैन । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

    कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

    आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक सात अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत आठ अर्व २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको । निर्माण अवधिको ब्याजबाहेकको आयोजनाको अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (पाँच अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार