Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

जलविद्युत् आयोजनाका कारण सुके खानेपानीका मुहान

जलविद्युत् आयोजनाका कारण सुके खानेपानीका मुहान

आर्थिक पत्र
बुधवार, पौष २० २०७९
  • लमजुङ।  जलविद्युत आयोजनाको जिल्ला भनेर चिनिन थालेको लमजुङका नागरिकले जलविद्युत् आयोजनाकै कारण खानेपानी संकट व्यहोर्नुपरेको छ। 

    images

    आफ्नै घर छेउमा धमाधम निर्माण भइरहेका आयोजनाहरूले मुहार उज्यालो बनाउनुको साटो अर्को पीडा दिएको स्थानीयहरू बताउँछन् । दोर्दी करिडोरमा निर्माणसम्पन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा स्थानीयले उपभोग गर्दै आएका पानीका मुहानहरू पनि सुरुङतर्फ गएपछि खानेपानी संकट भएको छ।

    पानीका मुहान सुक्न थालेपछि बेसीसहर नगरपालिका–११ चितीको बानियाँ पँधेरा, भोर्ले, टिमुरे गैराथोक, रामचोक र दलित बस्तीका करिव डेढ सय परिवारले खानेपानीको संकट व्यहोरिरहेका छन् । गाउँनजिकै जलविद्युत् आयोजनाको सुरुङमार्ग निर्माण गरिएकाले गाउँमा खानेपानीको समस्या भएको बानियाँ पँधेराका लक्ष्मीमान कमलीले बताए। उनले भने, ‘खानेपानीमात्र होइन वस्तुभाउलाई खुवाउने पानीको समेत अभाव भएको छ।’ बानियाँ पँधेराकै कृष्णकुमारी श्रेष्ठले मूल सुक्न थालेपछि एक गाग्री पानी भर्न घन्टौं लाग्ने बताइन् । उनले भनिन्, ‘कुवामा पुग्न एक घण्टा लाग्छ अनि घन्टौं पानीको लाइन बस्नुपर्छ।  एक गाग्री पानी लिन बिहानै निस्केको मान्छे घर फर्किँदा दिउँसो हुन्छ।’ पानी अभावका कारण घरको काम र मेलापात सबै चौपट भएको उनले बताइन् ।

    जलविद्युतको सुरुङ निर्माणपछि सय वर्ष पुराना पानीका मुहानसमेत सुकेका स्थानीय भीमबहादुर अधिकारीले बताए। जलविद्युत् आयोजनालाई धेरै पटक जानकारी गराउँदा पनि कुनै चासो नदिएको स्थानीयको गुनासो छ। आयोजनाले सुरुङ खन्दा सावधानी नअपनाउँदा गाउँमा पानीको हाहाकार भएको बेंसीशहर–११ की चन्द्री विक बताउँछिन् । ‘केही वर्ष अघिसम्म मुहानमा पानी प्रशस्त थियो। अहिले मुहान सुकेपछि पानीको जोहो गर्न निकै समस्या भएको छ।’ खानेपानीको समस्या भएसँगै आयोजनाले ट्याङ्की निर्माण गरी खानेपानीको अस्थायी व्यवस्था गरेको छ। तर, मुहान नै सुक्न थालेकाले यसलाई विकल्पका रुपमा हेर्न नहुने स्थानीय गणेश श्रेष्ठ बताउँछन् ।

    स्थानीय लक्ष्मीमान कमली बानियाँ पँधेरामा ०७६ बाट खानेपानीको मुहान सुक्न थालेको बताउँछन्। उनी भन्छन्, ‘आयोजनाको सुरुङ खन्न सुरु भएसँगै खानेपानीको मुहान सुक्न थालेको हो।’ आयोजनाले ०७२ फागुनबाट निर्माण कार्य सुरु गरेको हो । तर, आयोजनाकै कारण पानीको मुहान सुकेको हो होइन भन्ने एकिन भइनसकेको दोर्दी खोला जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकाल बताउँछन्। ‘आयोजनाकै कारण पानीको मुहान सुकेको हो भन्ने यकिन हुनसकेको छैन। यसको पहिचान हुँदैछ,’ उनले भने। आयोजनाको सुरुङ खन्ने क्रममा समस्या देखिएको भए पानीको स्रोतको पहिचान गरी स्थानीय सरकारसँगको समन्वयमा खानेपानीको व्यवस्थापन गरिने उनको भनाइ छ।

    आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ईआइए रिपोर्टमासमेत आयोजना निर्माणको क्रममा खानेपानीको मुहान सुके आयोजनाले खानेपानीको स्रोत पहिचान गरी स्थानीयलाई खानेपानीको व्यवस्था गर्ने उल्लेख छ। 

    आयोजनाले ईआइए रिपोर्टमा समावेश गरेको कुरासमेत कार्यान्वयन नगर्दा समस्या भएको बेंसीशहर–११ का जलविद्युत् आयोजनाका प्रभावित काशीनाथ दवाडी बताउँछन्। 

    आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन ईआइए रिपोर्टको बेवास्ता गरेकाले समस्या आएको स्थानीय नेता सुरेशबाबु पाण्डे बताउँछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार