Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

अरुण तेस्राेकाे टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाको मुआव्जा वितरण सुरु

अरुण तेस्राेकाे टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाको मुआव्जा वितरण सुरु

आर्थिक पत्र
शुक्रवार, माघ १३ २०७९
  • खोटाङ ।  अरुण तेस्राे जलविद्युत् आयोजनाको प्रशारणलाईनको टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण सुरु गरिएको छ । संखुवासभामा निर्माणाधिन चार सय केभी क्षमताको जलविद्युत आयोजनाको प्रशारणलाईनको टावर निर्माणका लागि साकेला गाउँपालिकामा अधिग्रहण गरिएका जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरिएको हो ।

    images

    गत कात्तिक यता साकेला गाउँपालिकाभित्रका ३० जना जग्गाधनीलाई मुआव्जा वितरण गरिसकिएको अरुण तेस्राे जलविद्युत् आयोजनाका खोटाङ साइडअफिसर अमृत कार्कीले बताए । 

     साकेला गाउँपालिकामा अरुण तेश्रो जलविद्युत आयोजनाको टावरको फाउण्डेसन रहने स्थानका ९२ कित्ता निजी र चार कित्ता सरकारी जग्गा अधिग्रहण गर्ने निश्चित गरी मुआब्जा वितरण सुरु गरिएको हो । साकेलामा ८० जग्गा धनीलाई मुआव्जा वितरण गरिने साइडअफिसर कार्कीले बताए । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका २९ जना, साकेला गाउँपालिका–२ रतन्छाको २० जना, साकेला गाउँपालिका–४ मात्तिमको १२ जना र साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङको १९ जनाको जग्गा अधिग्रहण गरेवापत मुआब्जा वितरण गर्ने निश्चित भएको छ । 

    संखुवासभाबाट भोजपुर, खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुरबाट ढल्केबर–बथनाहामा जोडिने अरुण तेस्राेको प्रशारणलाईनका लागि साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका करिब ६.४ हेक्टर जग्गा अधिग्रहण हुनेछन् । आयोजनाका लागि साकेला गाउँपालिकाभित्र ३९ वटा र दिप्रुङ चुईचुम्मा गाउँपालिकाभित्र ४१ टावर निर्माण हुने अरुण तेश्रो जलविद्युत आयोजनाका साईडअफिसले जनाएको छ । टावर वरपरका २३/२३ मिटरभित्रको जग्गा अधिग्रहणको व्यवस्था छ । 

    जलविद्युत् आयोजनाको प्रशारणलाईनको रुटमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाभित्रका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालयले माघ ७ गते जग्गा प्राप्ती गर्नेसम्बन्धी सूचना प्रकाशित गरेको छ । कार्यालयले रुटमा पर्ने जग्गा पूर्ण वा आंशिकरुपमा तथा जग्गामा रहेका घर, गोठ, टहरा लगायतका भौतिक संरचनाका साथै रुख बिरुवा समेत स्थायीरुपमा प्राप्ती गर्नेगरी सुचना प्रकाशित गरेको हो ।

    सूचना प्रकाशित भएको मितिदेखि नै प्राप्ति गरिने जग्गा रोक्का रहने भन्दै प्रशासनले उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्य नगर्न नगराउन भनेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाका जग्गाधनीलाई मुआब्जा वितरणका लागि मुआब्जा निर्धारणको काम प्रक्रियामा रहेको जनाइएको छ । आयोजनाको प्रशारणलाईनको २७ किलोमिटर खण्ड खोटाङभित्र हुनेछ । 

    भारतको सतलज हाइड्रो कम्पनीले ठेक्का लिएको अरुण तेश्रो आयोजना २०७५ वैसाख २८ गते नेपालका तत्कालिन प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँबाट शिलान्यास गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार