काठमाडौँ । नेपाल चिकित्सक संघले देशभर स्वास्थ्य सेवा अवरुद्ध गर्ने निर्णय फिर्ता लिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्नेबारेमा सहमति भएको हाे ।
शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारेको थियाे ।
वार्तामा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नेलगायतका विषयमा सहमति भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधिहरु र चिकित्सक संघको तर्फबाट नेतृत्व डा. लोचन कार्की, महासचिव डा बद्री रिजाल, डा रुद्र मरासिनी, संघका पूर्व अध्यक्षहरुको सहभागिता थियो।

