Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

खोप नलगाएका बालबालिका भेटिए

खोप नलगाएका बालबालिका भेटिए

आर्थिक पत्र
शुक्रवार, फाल्गुण १२ २०७९
  • बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा दादुराको लक्षण देखिएका  बालबालिकाको नमूना सङ्कलन गर्ने क्रममा कुनै पनि खोप नलगाएका बालबालिका पनि भेटिएका छन् । जिल्ला नै पूर्ण खोप घोषणा भइसके पनि तीन बालिकाले कुनै पनि खोप लगाएका थिएनन् । 

    बिहीबार बूढीगङ्गा स्वास्थ्य शाखाका  स्वास्थ्यकर्मीले दादुराको लक्षण देखा परेका आठ बालबालिकाको रगतको नमूना लिने क्रममा तीन बालबालिकाले हालसम्म कुनै पनि खोप नलगाएको पाइएको स्वास्थ्य शाखा संयोजक दीपक शाहले बताउनुभयो । 

    नमूना लिइएका आठ बालबालिकामध्ये दुई बालिका भारतबाट दुई साता अघि घर आएका र एक बालिका दुई वर्ष पहिले मात्र घर आएपछि उनीहरुले खोप नपाएको खुल्न आएको उनले  जानकारी दिए । 

    खोप नलगाउनेमा सोही नगरपालिका–१ अम्कोटका तीन वर्षीया आशिका नेपाली, पाँच वर्षीया अनुस्का नेपाली र निशा नेपाली रहेका छन् । दादुरा तथा रुबेला रोगको लक्षण देखा परेका बालबालिको उपचारका लागि दुई घण्टाको पैदल बाटो हिँडेर धुरालसैन आधारभूत स्वास्थ्यचौकीमा जाँदा स्वास्थ्यकर्मीले उपचार नगरेर नगरपालिकालाई खबर गर्छांै, घर जानु भनेर फर्काएको आफन्त कलशी नेपालीले बताइन्।

    उनले स्वास्थ्य केन्द्रमा उपचार नै नगराएर स्वास्थ्यकर्मीले घर फर्काएपछि बालबालिकाको ज्यान जाने हो कि भनेर आफू चिन्तित बनेकीमा  नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी आएर उपचार गरेपछि बल्ल ढुक्क भएको उल्लेख गरिन् । गाउँमा २० परिवारका बालबालिका बिरामी भएको दुई साता बित्न लागेपछि  हिँडेरै उनीहरु दुई घण्टा टाढा रहेको धुरालसैन स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार