कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा निर्माण गरिएको ‘लाहाचोक १३२/३३/११ केभी’ प्रसारण लाइन सवस्टेशनको उद्घाटन गरेकी छन् ।
मन्त्री भुसालले आगामी दुई वर्षभित्रमा सबै नेपालीका घरमा केन्द्रीय प्रसारण लाइनको विद्युुत् पु-याउने गरी सरकारले नीति, कार्यक्रम र योजना बनाएको उल्लेख गरिन् । उनले नेपालका नदी, नालाबाट अधिकतम विद्युत् उत्पादनका लागि देशभित्रको लगानीसहित अन्तर्राष्ट्रिय लगानी र साझेदारी खोजिने बताइन्।
उनले भनिन्, “राजनीतिक प्रणालीमा परिवर्तनपछि जलविद्युत्को विकासमा सरकारी प्रयास अघि बढेको छ । निजी क्षेत्रका लागि पनि यो खुला गरिएको छ । अहिले बत्तीका लागि होइन ऊर्जाका हरेक क्षेत्रमा विद्युत् प्रयोग गर्ने र पेट्रोलियम पदार्थ, दाउरा र एलपी ग्यासलाई विस्थापित गर्ने अवस्थामा पुगेका छौँ ।” पानीलाई बिजुलीमा रुपान्तरण गरेर बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी अहिलेको असन्तुलित व्यापार घाटा सन्तुलनमा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको मन्त्री भुसालले बताइन्।
सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको र सो विद्युत् नेपालमा मात्र खपत हुन नसक्ने भएकाले आन्तरिक खपतमा वृद्धि गर्दै विद्युत् व्यापारका लागिसमेत कार्य अघि बढाइको मन्त्री भुसालको भनाइ थियो । उनले भनिन्, “गत वर्ष भारतसँग ७५ मेगावाट विद्युत् बिक्री गरेर व्यापारको सुरुआत गरेका छौँ । आगामी वर्ष ५०० देखि ७०० मेगावाट विद्युत् बिक्री गर्ने योजना छ ।”
देशभित्र हाल कुलेखानीबाहेकको अर्को रिजर्भ (जलाशययुक्त) आयोजना नहुँदा हिउँद याममा भारतसँग बिजुली खरिद गर्नुपर्ने बाध्यता रहे पनि अर्को वर्षदेखि आत्मनिर्भर बन्ने अवस्था आउने मन्त्री भुसालले बताइन् ।
नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र भारतको एक्जिम बैंकको ऋण लगानीमा सो सवस्टेशन निर्माण गरिएको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए । कास्कीको मर्दीखोला, सेती नदी तथा पर्वतको मोदीखोला र यस आसपासका नदीबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी निर्माणाधीन ४२ किमी लामो नयाँ मोदी–लेखनाथ प्रसारण लाइनअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले सो सवस्टेशन निर्माण गरिएको हो ।
सवस्टेशन नयाँ मोदी–लेखनाथ प्रसारण लाइनअन्तर्गत मोदी जलविद्युत् केन्द्र हुँदै राष्ट्रिय ग्रिडमा जडान भएको र निकट भविष्यमा लेखनाथ १३२ केभी सवस्टेसनमा जोडिने आयोजनाले जनाएको छ । यहाँ जम्मा हुने विद्युत् पोखरास्थित राष्ट्रिय प्रसारण लाइनमा जोड्न अहिले प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाले जनाएको छ । यसको लागत रु एक अर्ब पाँच करोड रहेको छ । भारतको हिताक्षी इनर्जी कम्पनीसँग सन् २०१८ जुन २१ मा निर्माण सम्झौता भएर सन् २०२१ डिसेम्बर २९ मा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।


