Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

गर्मीका कारण तराईका अस्पतालमा बिरामीको चाप बढ्यो

गर्मीका कारण तराईका अस्पतालमा बिरामीको चाप बढ्यो

आर्थिक पत्र
आइतवार, जेठ २८ २०८०
  • भैरहवा । जेठ महिनाको सुरूवातसँगै उकासिएको गर्मीका कारण तराई जिल्लामा जनजिवन कष्टकर बन्दै गएको छ ।  तराईका अधिक्तम जिल्लामा तापक्रम ४३ डिग्री भन्दा उकालो लाग्न थालेकाले जनजीवन अस्तव्यस्त हुदै गएको हो ।

    बिहानैदेखि बहने तातो हावा र लाग्ने चर्को घामका कारण जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ । दिनहुँ उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालकी चिकित्सक डा. सयिबा खातुनले बताइन् ।

    गर्मीका कारण मानिसको शरिरबाट बढी पसिना बगेर शरीरमा पानीको मात्रा कम भई टाउको दुख्ने, र जिउ दुख्ने समस्या, झाडा पखाला लाग्ने, रिंगटा लाग्ने, ज्वरो, रुघाखोकी, टाइफाइड, निमोनिया र बालबालिकामा खटिराको समस्या, जस्ता लक्षणहरु बढी देखा पर्छन् । अन्य समय भन्दा यतिबेला गर्मीले गर्दा अस्पतालको आकस्मिक कक्षमा भर्ना हुने बिरामीको संख्या ह्वात्तै बढेको र बिरामी हुनेमा अधिकांश ८/१० बर्ष मुनिका बालबालिकाहरु र बृद्धबृद्धाहरुको संख्या बढी रहेको उनको भनाई छ ।

    अहिले अत्याधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुनेलगायतको समस्या देखिएका कारण उनीहरूलाई झोलिलो पदार्थ खान दिन उनले आग्रह गरेकी छन् । भैरहवा क्षेत्रको अर्को अस्पताल भिम अस्पतालमा पनि गर्मीका कारण आउने बिरामीको चाँप बढ्दो छ ।

    अन्य समय भन्दा यतिबेला इमर्जेन्सीमा आउने बिरामीको संख्या डेढ गुनाले बढेको अस्पतालले जनाएको छ । अस्पतालमा सामान्य अवस्थामा बिरामीको संख्या २–ढाइ सय हुनेमा अहिले एक्कासी ४०० सम्म पुग्ने गरेको भिम अस्पतालका सूचना अधिकारी बाल रोग विशेषज्ञ डा. आरिफ हुसेनको भनाइ छ । अत्याधिक गर्मीका कारण बिरामी हरू भर्ना गरेर उपचार गर्नु पर्ने बिरामीहरू आइरहेको उनले बताए ।

    भिम अस्पतालमा बिरामीको चापँ बढे सँगै व्यवस्थापनमा चुनौती पनि थपिएको छ । त्यसैले अस्पतालको अवस्था  अस्तव्यस्त नहोस् भनि टोकन सिस्टम लागु गरिएको र बिरामीको पनि छिटो भन्दा छिटो गुणस्तरिय उपचार प्रदान गरि पठाउने गरेको डा.आरिफ हुसेनले बताए । अस्पतालमा आउने बिरामी र कुरूवाको लागी बस्ने प्रक्षिालयको पनि अस्पतालले व्यवस्थापन गरेको छ ।

    गर्मीमा बढी मेहनत गरेर काम गर्नेहरुको बढी पसिना निस्कने भएकाले त्यसबाट शरीरमा समस्या सृजना हुन नदिन पानी प्रशस्त पिउन चिकित्सकहरूले आग्रह गरेका छन् ।

    गर्मीमा बाहिरबाट आउँदा साबुन पानीले हात धुने, नुहाउने , वरपरको वातावरण सफा राख्ने, सधै पानी उमालेर पिउने, खानेकुरा अपच हुने तरिकाले नखाने ,बासि र अस्वस्थकर जस्तो देखीने खानेकुरा नखाने, सामान्य बिरामी भएपनि चिकित्सकोमा गएर एक पटक जाँच गराइ हाल्ने, गर्मीमा प्रदुषण धेरै हुने भएकाले लामो बाउला भएको कपडा लगाएर हिँड्ने र माक्सको प्रयोग गर्ने लगायतका कुरामा ध्यान दिन सके रोगबाट बच्न सकिने चिकिस्कको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार