काठमाडौं : माई पे डिजिटल वालेटले मासिक ५ हजार रुपैयाँ सम्मको ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । युवामाझ लोकप्रिय यस वालेटले एसईई पास भएका १०० जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गर्ने माई पेले जनाएको छ ।
एसईई पास गरेका युवा विद्यार्थीलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस छात्रवृत्ति योजना ल्याएको माई पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनाकारी दिए ।
‘नविन प्रविधिलाई युवाहरुले नै सबैभन्दा पहिले आत्मसाथ गर्न सक्दछन्,’ मेहताले भने, ‘त्यसैले हामीले उनीहरुलाई डिजिटल प्रविधिप्रति बेलैमा आर्कषित गरी डिजिटल साक्षरता दिन सके डिजिटल नेपालको सपनालाई साकार पार्न समेत सहयोग मिल्थ्यो ।’ उनी यस कार्यक्रम सुरुवात गर्न पाउँदा निकै उत्साहित रहेको समेत बताए ।
यस छात्रवृत्ति कार्यक्रममा १०० जना विद्यार्थीहरु लाभान्वित हुनेछन् । जसमा ९९ जना विद्यार्थीले मासिक ५०० रुपैयाँका दरले एक वर्षसम्म र एक जना विद्यार्थीले मासिक ५ हजार रुपैयाँका दरले एक वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।
यस कार्यक्रममा सहभागी हुनका लागि एसईई दिएर बसेका विद्यार्थीहरुले माई पे वालेट डाउनलोड गरी वालेटभित्र रहेको फर्म भर्नुपर्नेछ । फर्म भर्नका लागि १० रुपैयाँ शुल्क लाग्नेछ । देशैभरका विद्यार्थीहरु यस योजनामा सहभागी हुन सक्नेछन् ।
्
छात्रवृत्तिमा छनोट भइसकेपछि विद्यार्थीहरुले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाण समेत पेस गर्नुपर्नेछ । यस योजनाको आवेदन अवधि साउन अन्तिमसम्म रहेको माई पेले जनाएको छ ।

