Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

काठमाडौं उपत्यका नजिकको ‘हिल स्टेशन’ चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरू

काठमाडौं उपत्यका नजिकको ‘हिल स्टेशन’ चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरू

आर्थिक पत्र
शुक्रवार, कार्तिक १० २०८०
  • काठमाडौं उपत्यका नजिकको चर्चित ‘हिल स्टेशन’ चन्द्रागिरिमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू भएको छ।

    हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ले  प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो। 

    सगरमाथाको आरोहण गरी शिखरबाटै प्याराग्लाइडिङ उडान गरेर समुन्द्रसम्म पुगेका सुनुवार नेसनल जियोग्राफ्रीबाट  ‘एडभेञ्चर्स अफ इयर–२०१२’ अवार्ड विजेता समेत हुन्। 

    भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुने सुनुवारले बताए।

    चन्द्रागिरि (२३ सय मिटर)बाट सुरू भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ। अद्भुत दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिने उनले बताए।

    प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यु’का साथै काठमाडौं उपत्यकाको अधिकांश भुभागको अवलोकन गर्न सकिने उनले बताए। 

    रसुवा र धादिङका भुभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङलगायत मानव निर्मित इन्द्रसरोवर तालकोसमेत आकर्षक दृश्यावलोकन गर्न सकिनेछ।

    मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृङ्खलाले जो कोहिलाई मोहित बनाउनले उनले बताए।

    उडानको अधिकांश समय जंगलमाथि हुने भएकाले  जंगलको हरियाली त्यहाँको अर्को मज्जा रहेको पनि उनले सुनाए।

    सरकारी अनुमतिअनुसार, कम्पनीले एकैपटकमा १२ प्याराग्लाइडर उडाउन सक्ने सुनुवारले जानकारी दिए। दिनमा करिब सय जनासम्मलाई सेवा दिन सकिने उनले बताए। 

    स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिरहेका सुनुवारले साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र काठमाडौंमा उपत्यकाबासीलाई पनि प्यारा उडानको स्वाद चखाउन चन्द्रागिरिमा लगानी गरेको बताए।

    ‘नेपालभरि प्याराग्लाइडिङ फैलाउने अभियान छ। काठमाडौंमा जनघनत्व धेरै भएकाले यसको छिटो र प्रभावकारी सन्देश फैलाउन सकिनेमा म आशावादी छु,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार