Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बाँकेको खयरभट्टीमा अझै भएन विद्युतीकरण, स्थानीयलाई सास्ती

बाँकेको खयरभट्टीमा अझै भएन विद्युतीकरण, स्थानीयलाई सास्ती

आर्थिक पत्र
सोमवार, कार्तिक ५ २०८१
  • नेपालगञ्ज– भारतको सीमा नजिक रहेको बाँकेको दुर्गम बस्ती खयरभट्टीमा अहिले पनि विद्युतीकरण हुनसकेको छैन । जिल्लाको राप्तीसोनारी–४ र १ को सो गाउँमा विद्युत् जडानका लागि स्थानीयले बारम्बार आग्रह गरे पनि विद्युतीकरण नहुँदा स्थानीय विभिन्न काम गर्न सास्ती झेल्न बाध्य भएका बताएका छन् । सो क्षेत्रमा करिब चार सय ५० घरपरिवारले विद्युत्को सुविधा नपाउँदा खानेपानी र सिँचाइको अभाव झेलिरहेको स्थानीय प्रकाश नेपालीले जानकारी दिए । 

    उनले पछिल्लोपटक केही घरमा धारा जडान भए पनि खानेपानीको समस्या समाधान नभएको उल्लेख गर्दै विद्युतीकरण भएपछि खोलामा बग्ने पानीको सदुपयोग गरेर खानेपानीको समस्या सधैँका लागि अन्त्य हुने विश्वास व्यक्त गरे ।  

    उनले  काम गर्न लागेको एक वर्षमा पनि खम्बा गाड्ने र तार तान्ने काम पूरा नभएको जानकारी दिँदै नेपाल विद्युत् प्राधिकरणलाई पनि ताकेता गर्न आग्रह गरे। उक्त क्षेत्रमा विद्युतीकरणका लागि पाँच सय ६० स्टिल ट्युबलर खम्बा गाडिएको छभने केही अझै बाँकी छ ।

    त्यहाँका स्थानीयको मुख्य आयस्रोत बाख्रापालन, कुखुरापालन र बनकसको डोरी बनाएर बेच्ने रहेको बताइएको छ । सो डोरी बेच्न स्थानीय भारतको बजारमा जाने गर्छन् । 

    नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले त्यस क्षेत्रमा विद्युतीकरणका लागि पोल गाड्ने काम सम्पन्न भएको र केही बाँकी रहेको जानकारी दिँदै तार तान्ने काम हुन नसकेको बताए। 

    उनले भने, ‘अहिले तत्कालका लागि काम स्थगन भएको छ, तिहारपछि काम सम्पन्न हुन्छ ।’

    सो क्षेत्रमा १३ किलोमिटरमा विद्युत् लाइन जोड्नुपर्ने अवस्था रहेको बताइएको छ । तीन करोड ५० लाख हाराहारीमा सो क्षेत्रमा विद्युतीकरणका लागि ठेक्का दिइएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार