काठमाडौं । चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका ३ हजार १२२ वटा विद्युतीय गाडी (ईभी) मुस्ताङका विभिन्न स्थानमा रोकिएका छन्। चाडपर्वका लागि बुकिङ गरिएका गाडी सडकको अवस्था र पर्याप्त चार्जिङ सुविधाको अभावका कारण गन्तव्यसम्म पुग्न नसकेका हुन्।
रोकिएका गाडीमध्ये २ हजार ८२८ वटा कोरला नाकाको दशगजा क्षेत्रमा छन्। त्यस्तै मुस्ताङ भन्सार कार्यालयको यार्डमा १२०, चराङको चार्जिङ केन्द्रमा ७५, छोसेरमा निजी जग्गामा ४५, घाँसामा चालक नभएका कारण २३ र जोमसोम बसपार्कमा १९ वटा गाडी रोकिएका छन्।
कोरला–जोमसोम सडकखण्डका विभिन्न स्थानमा ३० वटाभन्दा बढी विद्युतीय गाडी सडकमै अलपत्र अवस्थामा छन्। उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङमा चार्जिङ केन्द्र सञ्चालनमा रहे पनि अन्य स्थानमा आवश्यकताअनुसार सुविधा विस्तार हुन सकेको छैन। यसले गर्दा भन्सार जाँचपास पूरा भएका गाडीसमेत लामो समयसम्म रोकिएका छन्।
कोरला नाकाबाट भन्सार कार्यालयसम्म गाडी ल्याएर जाँचपास गरेपछि बेनी–जोमसोम–कोरला सडक हुँदै पोखरालगायतका गन्तव्यमा लैजाने गरिन्छ। तर सडकमा हिलो र क्षति भएका कारण गाडी आवतजावतमा कठिनाइ हुनुका साथै गाडीमा क्षति पुग्ने जोखिमसमेत रहेको छ। तिहारअघि कोरला नाकाबाट जाँचपास भएका सबै विद्युतीय गाडी मुस्ताङबाहिर पठाउने तयारी भइरहेको छ।


