काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबिच मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा दुई देशबिचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य र साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीका सवालमा फलदायी छलफल भएको मन्त्रालयले जनाएको छ।
सो अवसरमा साइप्रसका विभिन्न विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने, उनीहरूको हित संरक्षण गर्ने र सम्भावित समस्या समाधानका लागि सहजीकरण गर्ने विषयमा कुराकानी भएको थियो।
साइप्रस नेपाली विद्यार्थीका लागि उच्च शिक्षाको प्रमुख गन्तव्यमध्ये एक भएकाले त्यहाँ अध्ययनरत विद्यार्थीको हितका लागि साइप्रस सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिएको छ।
भेटका क्रममा शिक्षामन्त्री पोखरेलले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) उपलब्ध गराउने तथा विदेशबाट प्राप्त शैक्षिक उपाधिको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको बताए।
विगतमा त्रिभुवन विश्वविद्यालयबाट हुँदै आएको समकक्षता निर्धारणको कार्य हाल विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको र यसमा आवश्यक नीतिगत सुधारका कामहरूसमेत अघि बढाइएको जानकारी उनले दिए।
राजदूत भ्रीयोनिडेसले नेपाल र साइप्रसबिचको आपसी हित तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै उच्च शिक्षाको क्षेत्रमा विगतदेखिको सहकार्यलाई निरन्तरता दिने र आगामी दिनमा अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।


