Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आजदेखि दैनिक १० घण्टा बन्द गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम गरिदै

आजदेखि दैनिक १० घण्टा बन्द गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम गरिदै

आर्थिक पत्र
शुक्रवार, कार्तिक २३ २०८१
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आजदेखि दैनिक १० घण्टा बन्द गरेर विस्तारको काम गरिदै छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको हो ।

    प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्ने बताएको छ । यी काम पूरा गर्न करिब १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो । विमानस्थलको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे पनि बनाउन लागिएको छ । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो ।

    त्यसअघि विस २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो । विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । त्रिभुवन विमानस्थलमा दैनिक आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ करिब एक सय उडान हुने गरेका छन् ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार