Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

एक वर्षमा एक लाख ९० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे

एक वर्षमा एक लाख ९० हजार बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमे

आर्थिक पत्र
शुक्रवार, श्रावण ६ २०७९
  • चितवन। गत आर्थिक वर्ष २०७८/७९ मा एक लाख ९० हजार ४५८ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । दुर्लभ एकसिंगे गैंडालगायतका वन्यजन्तु हेर्नका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटकहरु चितवन आउने गर्छन् ।  

    images

    निकुञ्जभित्र जिप सफारी र डुंगा सफारी गर्न आन्तरिक (नेपाली), सार्क मुलुक र विदेशी मुलुकका पर्यटक आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जभित्र हात्ती सफारी भने हुँदैन । पर्यटन व्यवसायीहरुले मध्यवर्ती सामुदायिक वनमा मात्रै पर्यटकलाई हात्ती सफारी गराउने गर्छन् ।

    निकुञ्जका अनुसार गत आवमा एक लाख ५५ हजार ६७१ नेपाली पर्यटकले निकुञ्ज घुमे । त्यस्तै, सार्क मुलुकका १९ हजार ९७९ र सार्क मुलुक बाहिरका १४ हजार ८०८ पर्यटकले निकुञ्ज घुमेको देखिन्छ ।

    निकुञ्ज घुम्नका लागि नेपाली पर्यटकलाई १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकलाई ५०० रुपैयाँ र सार्क मुलुक बाहिरका पर्यटकलाई दुई हजार रुपैयाँ शुल्क लाग्छ ।

    गत आवमा निकुञ्जभित्र घुम्ने पर्यटकबाट निकुञ्जले सात करोड २९ लाख ४५ हजार ६५० रुपैयाँ आम्दानी गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

    त्यस्तै, जीप सफारीबाट दुई करोड ७८ लाख ८० हजार र डुंगा सफारीबाट १५ लाख ७३ हजार २०० रुपैयाँ आम्दानी भएको उनले बताए ।

    गत आवको साउन र भदौमा जीप सफारी र डुंगा सफारी भएको थिएन । दुई महिनामा चार हजार ८८३ पर्यटकले मात्रै निकुञ्ज अवलोकन गरे । पर्यटनका लागि निकुञ्जको मुख्यालय कसरामा घडीयाल गोही प्रजनन केन्द्र स्थापना गरिएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार