काठमाडौँ । निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले वर्ष २०२५ को अन्त्यसम्ममा आफ्नो थ्री जी सेवा बन्द गर्ने तयारी गरेको छ।
भारत लगायत विश्वका कतिपय देशमा फाइभ जी सेवाको तीव्र बिस्तार र अमेरिका, अस्ट्रेलियाजस्ता देशले थ्रीजी सेवा नै बन्द गरिसकेको परिप्रेक्षमा एनसेलले पनि सन् २०१० यता संचालनमा रहेको सो सेवा बन्द गर्न लागेको एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले बताएका हुन् । एनसेलले सन् २०१७ यता नेपालमा फोर जी सेवा समेत संचालन गर्दै आएको थियो।
फाइभ जी सेवा बिस्तार भने नेपालमा अन्यौलमै रहेको छ र परीक्षणको अनुमति पाएको नेपाल टेलिकमले त्यसतर्फ उल्लेख्य पहल नगरेको जानकारहरू बताउँछन् ।पछिल्ला दिनमा नेपालमा टु जी सेवाको प्रयोग गर्नेहरू भने बढेको पछिल्ला रिपोर्टहरूले देखाएका छन् । टु जी सेवा बन्द गर्न सरकारले निर्णय लिनुपर्ने जाब्बोरले बताए ।

