Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन गर्न समिति गठन हुँदै

स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकन गर्न समिति गठन हुँदै

आर्थिक पत्र
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति मूल्य निर्धारण गर्न समिति बनाउने भएको छ ।अनुमतिपत्र रद्द भइसकेकोले नियामकले स्मार्ट टेलिकमको सम्पत्तिको मूल्य निर्धारण गर्न लागेको हो ।

    सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले समितिमा बस्न इच्छुक चार्टर्ड अकाउन्टेडहरूलाई आफ्नो आशयपत्रसहित आवेदन दिन आग्रह गरेको छ । यसका लागि सीएको डिग्री प्राप्त गरेको तथा कम्तीमा १० वर्ष लेखापरीक्षकको रूपमा काम गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख छ ।

    इच्छुक सीएले अबको सात दिनभित्र आवश्यक कागजातसहित सिलबन्दी आशयपत्र दर्ता गर्नुपर्ने छ । आवेदनमा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण (बायो-डेटा), शैक्षिक प्रमाणपत्र तथा कार्य अनुभव पुष्टि गर्ने कागजात तथा स्मार्ट टेलिकमसँग कुनै संलग्नता नरहेको स्वघोषणा पत्र समावेश गर्नुपर्ने छ ।

    नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि नोटरी पब्लिकबाट प्रमाणित हुनुपर्ने छ । सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय, जमल, काठमाडौंमा आवेदन बुझाउनुपर्नेछ ।नवीकरण हुन नसकी स्वतः लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमको मूल्य निर्धारण समिति गठन प्रक्रिया पुनः सुरु भएको हो । सरकारले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन गरेपछि यसअघिको प्रक्रिया बीचैमा रोकिएको थियो । 

    स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री गर्ने उद्देश्यका साथ नियामकले पटकपटक सम्पत्तिको मूल्य निर्धारण ​गर्ने प्रयास गरेपनि पर्याप्त आवेदन नपर्दा सो प्रक्रिया नै रद्द भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार