काठमाडौँ । नेपालमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ३१ लाख नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले उपलब्ध गराएको तथ्यांक अनुसार २०८१ सालको चैत मसान्तसम्ममा फिक्स्ड इन्टरनेट ग्राहकको संख्या ३१ लाख ३० हजार ६५५ पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात् साउन मसान्तसम्म इन्टरनेट ग्राहक २९ लाख ३ हजार २७० थिए । नौ महिनाको अवधिमा कुल दुई लाख २७ हजार ३८५ ग्राहक थपिएका छन् । यसमध्ये वर्ल्डलिंक, वेबसर्फर, भायानेट, वाईफाई नेपाल र डिश मिडिया तीव्र रूपमा ग्राहक विस्तार गर्न सफल भएका छन् ।
सबैभन्दा धेरै ग्राहक थप्ने कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड रहेको छ । साउनमा नौ लाख ३१ हजार ९९ ग्राहक रहेको वर्ल्डलिंकले चैत मसान्तसम्ममा १० लाख ९३१ ग्राहक बढाएको छ । नौ महिनाको अवधिमा कम्पनीले ६९ हजार ८३२ ग्राहक थपेको हो । देशमा १० लाख ग्राहकको आँकडा पार गर्ने वर्ल्डलिंक एक मात्र सेवा प्रदायक हो ।
रफ्तारमा ग्राहक थप्ने दौडमा वर्ल्डलिंकपछि वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम्स रहेको छ । नौ महिनाको अवधिमा वेबसर्फरले ४८ हजार १०७ ग्राहक थप्दै कुल १ लाख ८६ हजार ६६७ पुर्याएको छ । विशेषगरी भदौ र मंसिर महिनामा यो कम्पनीले उल्लेख्य ग्राहक संख्यामा वृद्धि गरेको देखिन्छ ।यता भायानेटले ३५ हजार ८८४, वाईफाई नेपालले ३० हजार ७९१ र डिश मिडिया (डिशहोम)ले २२ हजार ५६९ ग्राहक थप्न सफल भएका छन् । वाईफाई नेपालले यो अवधिमा ग्राहक संख्या दोब्बर बनाएको छ । डिशहोमले अन्य महिनाको तुलनामा माघ महिना बढी ग्राहक थपेको छ ।
अर्कोतर्फ क्लासिक टेक, सबिसु, सजिलो नेट लगायत कम्पनीहरूले पनि केही हजार ग्राहक थप्न सफल भएका छन् । देशको ठूलो इन्टरनेट सेवाप्रदायक रहेपनि नेपाल टेलिकमको वृद्धि भने न्यून रहेको छ । नौ महिनायता टेलिकममा जम्मा एक हजार ९३४ ग्राहक थपिएका छन् ।यस अवधिमा केही इन्टरनेट सेवा प्रदायकहरूले भने ग्राहक गुमाएका छन् । ब्रोडलिङ्कसँग साउन मसान्तसम्म ५५ हजार ग्राहक रहेकोमा अहिले साढे ४० हजार जति मात्रै छन् । त्यस्तै एरोनेटले चार हजार ३६४ र कनेक्ट नेपालले दुई हजार ३२२, फाइबर वर्ल्डले एक हजार ८० ग्राहक गुमाएका छन् । यो अवधिमा अधिकांश साना सेवा प्रदायकहरूले ग्राहक गुमाएको देखिन्छ ।
ग्राहक संख्याका आधारमा शीर्ष १० फिक्स्ड इन्टरनेट सेवा प्रदायक (चैत २०८१ सम्म)
|
क्र.स. |
सेवा प्रदायक (Operator) |
कुल ग्राहक संख्या (Total Number of Subscribers) |
|
१. |
वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेड |
१,०००,९३१ |
|
२. |
नेपाल टेलिकम |
३५०,५७५ |
|
३. |
डिशहोम |
३४६,७७९ |
|
४. |
सुबिसु केबलनेट |
३१२,६२७ |
|
५. |
भायानेट |
२४५,१५४ |
|
६. |
वेबसर्फर |
१,८६,६६७ |
|
७. |
क्लासिक टेक |
१,८०,९९९ |
|
८. |
टेकमाइन्ड्स नेटवर्क |
८५,०५१ |
|
९. |
सीजी नेट |
७९,९८३ |
|
१०. |
वाईफाई नेपाल |
७०,६७५ |

