Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

काठमाडौँको असन बजारमा हरेक शनिवार सवारी निषेध गर्ने निर्णय

काठमाडौँको असन बजारमा हरेक शनिवार सवारी निषेध गर्ने निर्णय

आर्थिक पत्र
बिहिवार, चैत्र २६ २०८२
  • काठमाडौँ । काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ ।

    यस अघि स्थानीय संघसंस्था, क्लव तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी थियो । यस क्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सरोकारवाला कार्यालयका अधिकारी, स्थानीय संघसंस्था तथा क्लव र समुदायका प्रतिनिधिसहितको बैठकले तयारीमा कमजोरी हुन नदिन कार्यक्रमलाई एक हप्ता पछाडि सारेर बैशाख ५ गतेबाट कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

    ‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो । यसको प्राचीन र सांस्कृतिक महत्व जोगाउनु हाम्रो दायित्व हो ।’ वैठकमा कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘वडा कार्यालयको नेतृत्व, सरोकारवाला र साझेदारहरुको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौँ । थालिएको कामलाई दिगो बनाऔँ ।’ आवागमन र स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो ।

    ‘स्थानीय, संघसंस्था, क्लव तथा समुदायको साथमा वडाले कार्यक्रम अगाडि बढाएको हो ।’ वडाध्यक्ष योगेशकुमार खड्गी भने, ‘कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदुषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्नेछ ।’

    छलफलमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लोकेन्द्र सिंह गुरुङ, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले यातायात आवागमन र पैदल मार्ग व्यवस्थापन तथा सुरक्षा प्रबन्धलाई मजवुत बनाइने बताए ।

    ‘भेहिकल फ्री असन’ कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नं. २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिवार सवारी साधन प्रवेशमा रोक लगाइनेछ । यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ ।

    यस क्षेत्रलाई सम्पदा मार्गका रुपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्धन गरिनेछ । मौलिक सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप सञ्चालन गरिनेछ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार