Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

दाइजो लेनदेन हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा

दाइजो लेनदेन हुने विवाह बहिष्कार गर्ने उपसभामुखको घोषणा

आर्थिक पत्र
बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौँ । मधेस प्रदेशकी उपसभामुख रुवि कुमारी ठाकुरले अबदेखि दाइजो लेनदेन हुने कुनै पनि विवाहमा आफू सहभागी नहुने घोषणा गरेकी छन् । विवाहको सिजन चलिरहँदा आफूले प्राप्त गरेका निमन्त्रणापत्रहरूमा ‘दहेज मुक्त विवाह’ भन्ने उल्लेख नगरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत गम्भीर असन्तुष्टि व्यक्त गरेकी हुन्। समाज अझै पनि दाइजो जस्तो घातक कुरीतिबाट मुक्त हुन नसकेकोमा चिन्ता प्रकट गर्दै उनले अबदेखि दाइजो लेनदेन हुने कुनै पनि विवाहमा आफू सहभागी नहुने घोषणा समेत गरेकी छन्।

    उपसभामुख ठाकुरले दाइजो लिनु र दिनु मात्र नभई यस्तो लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको बताएकी छन्। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउने उनको तर्क छ। समाज परिवर्तन र देश विकासका ठूला कुरा गरेर मात्र नहुने भन्दै उनले कुरीतिविरुद्धको लडाइँ आफ्नै व्यवहारबाट सुरु गर्नुपर्नेमा जोड दिएकी छन्। व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले मात्र ठूलो सामाजिक रूपान्तरण सम्भव हुने उनको विश्वास छ।

    उनले अबदेखि विवाहका निमन्त्रणापत्र पठाउँदा त्यसमा अनिवार्य रूपमा ‘दहेज मुक्त विवाह’ तथा ‘दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने स्पष्ट सन्देश समावेश गर्न सबैलाई आग्रह गरेकी छन्। यस्तो सन्देश नभएका वा दाइजो लेनदेन पुष्टि हुने विवाहमा आफू सहभागी हुन असमर्थ रहने जानकारी गराउँदै उनले समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्न अपिल गरेकी छन्। दाइजोमुक्त समाज निर्माणका लागि सबै नागरिकले ठोस पाइला चाल्नुपर्ने भन्दै उनले यो अभियानलाई साझा बनाउन आह्वान गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार