काठमाडौं । घरजग्गा व्यवसायलाई मर्यादित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित क्रियाशील हिमालयन रियल्टर्सले ‘रियल इस्टेट ब्रोकर’ र भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट राष्ट्रव्यापी भू–सेवा संचालनको पूर्ण इजाजतपत्र प्राप्त गरेको छ।
यसअघि प्रशासनिक जटिलता र प्रत्येक मालपोत कार्यालयबाट छुट्टाछुट्टै अनुमति लिनुपर्ने बाध्यताका कारण एकीकृत सेवा प्रवाहमा अवरोध थियो। तर, विभागले दिएको यो राष्ट्रव्यापी अनुमति पश्चात अब देशभरका घरजग्गा कारोबारलाई एकै स्थानबाट डिजिटल रूपमा सहजीकरण गर्न सकिने भएको छ। कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी ग्राहकलाई एकद्वार प्रणालीमार्फत सुरक्षित र पारदर्शी सेवा दिने लक्ष्य राखेको छ।
हालको कानुनी प्रावधान अनुसार, यो सेवा महानगरपालिका र उप–महानगरपालिका क्षेत्रभित्रका ३ करोड रुपैयाँभन्दा माथिका संस्थागत कारोबारहरूमा सीमित छ।
हिमालयन रियल्टर्सले निकट भविष्यमै यस प्रणालीलाई नगरपालिका क्षेत्र, साना कारोबार र व्यक्तिगत खरिद–बिक्रीसम्म विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।
कम्पनीको मुख्य उद्देश्य घरजग्गा कारोबारमा रहेका जोखिम घटाउँदै पूर्ण सुरक्षा र पारदर्शिता सुनिश्चित गर्नु हो। सरकारले घरजग्गा क्षेत्रलाई शेयर बजारजस्तै८‘नन फेस–टु–फेस’ प्रणालीमा आधारित पूर्ण बैंकिङ कारोबारमा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्य राखेको छ । जसलाई साकार पार्न हिमालयन रियल्टर्सले अग्रणी भूमिका खेल्ने जनाएको छ।

