Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आजदेखि मलमास शुरू, केके बार्नु पर्छ?

आजदेखि मलमास शुरू, केके बार्नु पर्छ?

आर्थिक पत्र
आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ । आज जेठ ३ गतेदेखि मलमास अर्थात् अधिकमास शुरू भएको छ। यो अधिकमास आगामी असार १ गतेसम्म रहनेछ। सूर्य र चन्द्रमाको गतिमा हुने अन्तर मिलाउन करिब प्रत्येक तीन वर्षमा एकपटक अधिकमास पर्ने गर्दछ।

    एउटा औंसीदेखि अर्काे औंसीसम्म सूर्य संक्रान्ति परेको छैन भने त्यो महीनालाई अधिकमास वा मलमास भनिन्छ। मलमासलाई भगवान् विष्णुसँग सम्बन्धित पवित्र अर्थात पुरुषोत्तम महीना मानिन्छ।

    धार्मिक मान्यताअनुसार अधिकमासमा तत्कालै नगरी नहुने नित्य तथा दैनिक धार्मिक कर्म भने गर्न मिल्छ। दैनिक स्नान, सन्ध्योपासना, नित्य पूजा, भगवान् विष्णु तथा पुरुषोत्तम भगवानको उपासना, दान, धर्म, परोपकार, पुराण श्रवण लगायतका धार्मिक कार्यलाई यो महिनामा विशेष फलदायी मानिन्छ। गर्भाधानपछिका केही संस्कारदेखि अन्नप्राशनसम्मका आवश्यक संस्कार पनि गर्न हुने धार्मिक मान्यता छ। विशेष गरी यो महिनामा मालपुवा लगायतका दान गर्ने परम्परा पनि रहिआएको छ।

    तर तत्काल नगरे पनि हुने खालका शुभ तथा मांगलिक कार्य भने अधिकमासमा गर्न नहुने मान्यता छ। विवाह, व्रतबन्ध, गृहप्रवेश, शिलान्यास, प्रतिष्ठा, सप्ताह, विशेष यज्ञ, अनुष्ठान, चूडाकर्म तथा व्रत उद्यापनजस्ता संस्कार र शुभकार्य सामान्यतः यो अवधिमा गरिंदैन।

    यस्तै नवविवाहित दम्पतीले पनि विवाहपछिको पहिलो अधिकमासलाई विशेष रूपमा बार्ने परम्परा रहेको छ। विवाह भएको पहिलो वर्षको मलमासमा नवविवाहिता श्रीमती पतिको घरमा नबसी मलमास बार्न माइतमा बस्ने चलन रहेको छ।

    धार्मिक दृष्टिले पुरुषोत्तम महिनालाई त्याग, सेवा र दानको महिना पनि मानिन्छ। त्यसैले यो अवधिमा आफ्नो क्षमता अनुसार दान, धर्म र सेवा गर्नाले पुण्य प्राप्त हुने विश्वास गरिन्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार