काठमाडौं । सरकारले सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य, पोषण र विद्यालयमा नियमित उपस्थिति सुनिश्चित गर्न चालु आर्थिक वर्षमा अर्बौं रुपैयाँको बजेट खर्च गरेको जनाएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको ‘मन्त्रालयगत प्रगति विवरण, २०८३’ अनुसार दिवा खाजा तथा निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रममार्फत देशभरिका लाखौँ विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।मन्त्रालयका अनुसार कक्षा ५ सम्म अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिएको दिवा खाजा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कुल १० अर्ब १९ करोड रुपैयाँ विनियोजन गरिएको छ । चैत मसान्तसम्म स्थानीय तहमार्फत तीन अर्ब ५७ करोड ६८ लाख १९ हजार रुपैयाँ खर्च भइसकेको छ, जुन कुल बजेटको ३५.१२ प्रतिशत हो ।
यस कार्यक्रमबाट देशभरिका २८ लाख २४ हजार ५८१ जना बालबालिकाले विद्यालयमै नियमित रूपमा पौष्टिक खाजा प्राप्त गरिरहेको मन्त्रालयले जनाएको छ । सरकारले विद्यालयमा विद्यार्थी टिकाइ दर बढाउने, कुपोषण न्यूनीकरण गर्ने तथा आधारभूत तहको शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरेको छ ।त्यसैगरी महिनावारीका कारण छात्राहरू विद्यालय अनुपस्थित हुने तथा पढाइ छोड्ने समस्या न्यूनीकरण गर्न सरकारले निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा एक अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
चैत मसान्तसम्म २२ करोड तीन लाख ११ हजार रुपैयाँ खर्च भइसकेको छ, जुन कुल बजेटको १७.०४ प्रतिशत हो । हालसम्म देशभरिका नौ लाख ४७ हजार ६८० जना छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।मन्त्रालयले दुवै कार्यक्रम स्थानीय तहमार्फत कार्यान्वयन भइरहेको जनाएको छ ।

