नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी असार ३१ गते बुधबारका दिन कम्पनीको २९औं वार्षिक साधारणसभा बोलाएको छ। असार ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो । काठमाडौँको कालिकास्थानस्थित अमृत भोग क्याटेरिङमा बिहान ११ बजेदेखि सुरु हुनेछ।सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी त्यसलाई पारित गर्नेछ। यसका साथै लेखापरीक्षकको प्रतिवेदन सहित गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोही अवधिसँग सम्बन्धित वित्तीय अनुसूचीहरू उपर छलफल गरी स्वीकृत गरिनेछ।
सभाले चालु आर्थिक वर्षको लेखापरीक्षण कार्यका लागि नयाँ लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ। यसका अतिरिक्त कम्पनीको आगामी कार्यकालका लागि सञ्चालक समितिमा एक जना महिलाको अनिवार्य प्रतिनिधित्व सहित कुल ७ जना सञ्चालकहरूको निर्वाचन गर्ने महत्त्वपूर्ण एजेण्डा पनि यस पटकको सभामा रहेको छ।कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि आगामी असार १६ गते एक दिनका लागि बूक क्लोज गर्ने निर्णय गरेको छ। यस निर्णयअनुसार असार १५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र कम्पनीको साधारणसभामा भाग लिन योग्य मानिनेछन्।

