काठमाडौं । नेपाल बैंकले कर्जा ग्राहकहरूलाई लक्षित गर्दै ब्याज छुटसहितको विशेष ऋण चुक्ता योजना सार्वजनिक गरेको छ। बैंकले खराब कर्जा भएका तथा नियमित किस्ता भुक्तानी गर्न बाँकी रहेका ग्राहकहरूलाई लक्षित गरी ऋण राफसाफ गर्ने अवसर उपलब्ध गराएको हो।
बैंकले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार वि.सं. २०७९ साल चैत मसान्तभन्दा अगाडि ‘खराब’ वर्गमा वर्गीकृत भएका वा अपलेखन भइसकेका १ करोड रुपैयाँसम्म बक्यौता साँवा रहेका ग्राहकहरूले उक्त सुविधा प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार यस्ता ग्राहकहरूले चालु आर्थिक वर्षको असार मसान्तभित्र योजना अनुसार कर्जा चुक्ता गरेमा विशेष ब्याज छुटको सुविधा पाउनेछन्। बैंकले सम्बन्धित ग्राहकहरूलाई यो अवसरको उपयोग गर्दै आफ्नो वित्तीय दायित्व पूरा गर्न आग्रह गरेको छ।
त्यसैगरी, वि.सं. २०८० साल वैशाख १ गतेपछि निष्क्रिय वा सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूका लागि पनि बैंकले सहुलियतको व्यवस्था गरेको छ। यस्ता ग्राहकहरूले असार मसान्तभित्र बक्यौता साँवा तथा ब्याज भुक्तानी गरी कर्जा चुक्ता गरेमा वा आफ्नो कर्जा खाता नियमित गरेमा ब्याज छुट प्रदान गरिने बैंकले जनाएको छ।

