काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको एक वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले मौद्रिक व्यवस्थापनका लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्न लागेको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सोमबार सूचना जारी गर्दै ऋणपत्र निष्कासन प्रक्रिया अघि बढाएको जनाएको छ। ऋणपत्रको बोलकबोल आगामी असार २९ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत मात्र हुनेछ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको निष्कासन मिति पनि असार २९ गते नै तोकिएको छ। ऋणपत्रको सावाँ भुक्तानी आगामी २०८४ असार २९ गते गरिनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ।
ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ। बोलकर्ताले दशमलव पछाडि बढीमा चार अंकसम्म ब्याजदर उल्लेख गर्न सक्नेछन्।
ऋणपत्र खरिदका लागि न्यूनतम ५ करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँका दरले बढाउँदै बोल गर्न सकिने व्यवस्था गरिएको छ। कुल निष्कासन रकम १५ अर्ब रुपैयाँसम्म बोल गर्न सकिनेछ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
बोलकबोल गर्दा सहभागी संस्थाले माग गरेको रकम र ब्याजदर स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। प्राप्त बोलमध्ये कम ब्याजदरदेखि उच्च ब्याजदरको क्रमअनुसार निष्कासन रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
निर्धारित सीमाभित्र समान ब्याजदरमा बोल गर्नेहरूको माग रकम कुल निष्कासन रकमभन्दा बढी भएमा समानुपातिक आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ। राष्ट्र बैंकले प्राप्त बोल स्वीकार गर्ने वा अस्वीकार गर्ने पूर्ण अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने जनाएको छ।
स्वीकृत ऋणपत्रको रकम निष्कासन मितिमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट खर्च कट्टा गरी जम्मा गरिनेछ। खातामा पर्याप्त मौज्दात नभए स्वीकृत बोल रकम रद्द गरी सम्बन्धित संस्थालाई २.५० प्रतिशत हर्जाना लगाइने तथा ६ महिनासम्म खुला बजार कारोबारअन्तर्गत बोलकबोलमा सहभागी हुन रोक लगाइने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले निष्कासन गर्ने ऋणपत्र बैंक तथा वित्तीय संस्थाले धितोका रूपमा प्रयोग गर्न सक्ने व्यवस्था पनि गरेको छ।
बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले समय–समयमा ऋणपत्र तथा अन्य मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। पछिल्लो समयमा बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेकाले राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ऋणपत्र निष्कासन गर्न लागेको हो।

