Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

उद्योग वाणिज्य महासंघका थप तीन विषयगत समिति पूर्ण, निजी क्षेत्रका एजेन्डा अघि बढाउने प्रतिबद्धता

उद्योग वाणिज्य महासंघका थप तीन विषयगत समिति पूर्ण, निजी क्षेत्रका एजेन्डा अघि बढाउने प्रतिबद्धता

आर्थिक पत्र
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत थप तीन विषयगत समितिले पूर्णता पाएका छन्। यसअघि आठ समिति गठन भइसकेका थिए। महासंघमा विभिन्न २५ वटा विषयगत समिति रहने व्यवस्था छ।

    महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा बैंक, वित्त तथा बीमा समिति, व्यापार मेला समिति तथा पर्यटन तथा हवाई यातायात समितिका पदाधिकारी, सदस्य र सल्लाहकारलाई मनोनयनपत्र हस्तान्तरण गरिएको हो।

    महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले विषयगत समितिहरू निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताको पहिचान गर्ने महत्वपूर्ण संयन्त्र भएको बताए। उनले समितिहरूलाई आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या तथा नीतिगत विषयमा गहिरो अध्ययन गरी महासंघमार्फत सरकारसमक्ष प्रभावकारी ढंगले सुझाव पेश गर्न आग्रह गरे।

    उनले विषयगत समितिको सक्रियताले निजी क्षेत्रलाई सशक्त बनाउनुका साथै मुलुकको आर्थिक समृद्धिमा पनि योगदान पुग्ने बताए। निजी क्षेत्रका समस्या समाधान, नयाँ सम्भावनाको खोजी, नीतिगत सुधार र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माणमा समितिहरूले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

    कार्यवाहक अध्यक्ष वैद्यले निजी क्षेत्रसँग सम्बन्धित साझा मुद्दामा महासंघको संस्थागत धारणा निर्माण गर्न विषयगत समितिको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै परिणाममुखी ढंगले काम गर्न निर्देशन दिए।

    महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समितिहरू महासंघका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आधार भएको बताए। उनले सम्बन्धित क्षेत्रका व्यवसायी तथा उद्यमीका समस्या नजिकबाट अध्ययन गरी समाधानका लागि आवश्यक पहल गर्न समितिहरूलाई आग्रह गरे।

    उनले वर्तमान अवस्था, चुनौती र सम्भावनाको अध्ययन गरेर तथ्यमा आधारित सुझाव तथा नीतिगत प्रस्ताव महासंघमा पेश गर्नुपर्नेमा जोड दिए।

    महासंघका कोषाध्यक्ष मनीषलाल प्रधानले समितिको सक्रियताले महासंघको संस्थागत क्षमता थप सुदृढ हुने बताए। निजी क्षेत्र, सरकार र सरोकारवाला निकायबीच समन्वय कायम गरी क्षेत्रगत समस्याको समाधानमा समितिहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

    बैंक, वित्त तथा बीमा समितिका सभापति हेमन्त गोल्छाले बैंकिङ तथा वित्तीय क्षेत्रमा सहज पहुँच, ब्याजदर स्थिरता, तरलता व्यवस्थापन तथा निजी क्षेत्रमैत्री नीतिका लागि समिति सक्रिय रहने बताए। उनले वित्तीय संस्थासँग समन्वय बढाएर व्यवसाय विस्तार र लगानी प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।

    व्यापार मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेला तथा प्रदर्शनीलाई व्यवस्थित, गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसहित समिति अघि बढ्ने बताए। उनले मेलामार्फत स्वदेशी उत्पादनको प्रवर्द्धन, बजार विस्तार तथा व्यवसायीबीच सहकार्य बढाउने योजनाबारे जानकारी दिए।

    पर्यटन तथा हवाई यातायात समितिका सभापति संघर्ष विष्टले पर्यटन क्षेत्रको पुनरुत्थान, हवाई सेवाको सहजता, गुणस्तरीय पर्यटक आकर्षण तथा निजी क्षेत्रको लगानी सुरक्षाका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले सरकारसँग समन्वय गर्दै पर्यटन पूर्वाधार विकास र नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

    महासंघले विषयगत समितिलाई निजी क्षेत्रका विभिन्न क्षेत्रका समस्या र सम्भावनाको अध्ययन, नीतिगत सुझाव तयारी, सरकार तथा सम्बन्धित निकायसँग संवाद र सहकार्य तथा महासंघको संस्थागत धारणा निर्माणका प्रमुख संयन्त्रका रूपमा अघि बढाउँदै आएको जनाएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार